काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ लाख रुपैयाँ भन्दा कम मूल्यका निजी सवारीसाधनको कर्जामा जोखिमभार घटाएकाे छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको उक्त व्यवस्था कार्यान्वयनका लागि आज (शुक्रबार) परिपत्र जारी गर्दै २५ लाखमुनिका गाडीमा कर्जा जोखिमभार १५० बाट घटाएर १०० प्रतिशत कायम गरेको हो ।
यसअघि सबै मूल्यका सवारी कर्जाको जोखिम भार १५० प्रतिशत थियो भने अब २५ लाख वा सो भन्दा बढी मूल्यका सवारी कर्जाको जोखिम भार १५० प्रतिशत रहने छ ।
राष्ट्र बैंकले २५ लाखसम्मको गाडीको अटो कर्जाको जोखिमभार एक सय प्रतिशतमा झारेकोले व्यवसायीहरू उत्साहित देखिँदैनन् । इन्ट्रि लेबलको गाडीमा मात्र यो सम्भव भएको र अन्यमा सम्भव नभएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए ।
अध्यक्ष थापाले मौद्रिक नीति अटो व्यवसायले अपेक्षा गरे अनुसार नआएको बताएका हुन् । उनले भने, “हामीले अपेक्षा गरेअनुसारको मौद्रिक नीति आएन ।
नीतिमा २५ लाखसम्मको कर्जामा हायर पर्चेज भनेको छ त्यसमा सीमा लगाउन हुने थिएन । किनभने २५ लाख भनेको इन्ट्री लेभलको गाडीमा मात्र सम्भव भयो अरुमा भएन । साधारण गाडीलाई ४० लाख देखि ५० लाखसम्म पर्ने गर्छ ।
जसले गर्दा यसमा हामीले अपेक्षा गरे जस्तो आएन ।” यद्यपि अध्यक्ष थापाले मौद्रिक नीतिमा चालु पूँजी कर्जा मार्गनिर्देशिकामा पुनरावलोकन हुँदा समग्र व्यापारमा सहयोग पुग्ने बताए ।
पेट्रोलियम निजी सवारीका हकमा कुल मूल्यको ५० प्रतिशत र विद्युतीय गाडीका हकमा ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्