चितवनको टिकौलीमा कलेज बस र शव वाहन ठोक्किदा १५ जना घाइते


काठमाडौ । चितवनको टिकौलीमा तीनवटा गाडी एक आपसमा ठोक्किँदा १५ जना घाइते भएका छन् ।

मोटरसाइकल, स्कुल बस र शव बोकेको गाडी आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी बिजय पण्डितले जानकारी दिए ।

डीएसपी पण्डितका अनुसार भरतपुर ९ मा पर्ने टिकौली जङ्गलमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना. १ क ६१३१ नम्बरको अक्सफोड कलेजको बसले विपरीत दिशाबाट आँदै गरेको ना. २ च ८४४६ नम्बरकोको शव बोकेर देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको थियो ।

हाइवेमा सवारीहरु तिब्र गतिमा रहेको हुँदा अरू सवारी आपसमा ठोक्किएका थिए । घटनास्थलमा पुगेर प्रहरीले घाइतेहरूको उद्धार गरेको छ ।

घाइतेहरूलाई भरतपुर अस्पताल, मेडिकल कलेज लगायत विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।