राष्ट्रिय योजना आयोगको कामप्रति राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको असन्तुष्टि


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय योजना आयोगको काम कारबाहीप्रति असन्तुष्टी जनाएका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सरकारले निर्धारण गरेका लक्ष्य प्राप्तीका लागि आयोगले गर्नुपर्ने योगदान र समन्वयमा प्रश्न उठेको बताए ।

राष्ट्रिय योजना आयोगले राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिसँग पनि आवश्यक समन्वय नगरेको टिप्पणी उनको भनाई थियो ।

उनले भने,“राष्ट्रिय सभामा हामीले दिगो विकास तथा सुशासन समिति बनायौँ । समितिलाई फ्यासिलेट गर्र्न र बजेटीङ गर्नको लागि योजना आयोगको कत्तिको ध्यान गएको छ ? विश्वमै हेर्ने हो भने संसद्मा दिगो विकास तथा सुशासन समिति कति देशमा बनेको छ ? योजना आयोगले देओस् त । मलाई लाग्छ कहीँ पनि त्यस्तो छैन ।”

अध्यक्ष तिमिल्सिनाले योजनावद्ध विकासले मात्रै मुलुकले समग्र विकासमा फड्को मार्नसक्ने उल्लेख गर्दै त्यसतर्फ आयोगको ध्यान जान नसकेको दाबी गरे । उनले खाद्य सम्प्रभुता, कृषि उत्पादनमा आत्मनिर्भर तथा जलवायु परिवर्तनको असरबाट बच्चका लागि क्षेत्रगत आवश्यकता तथा सम्भाव्यताका आधारमा स्पष्ट योजनासहित बजेटको तादम्यता मिल्नुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले योजना आयोगले मुलुकको आवश्यकता अनुसार सरकारलाई एकिकृत योजनाहरू सुझाउन नसकेको आरोप लगाए । उनले संसदीय समितिसँग आयोगको समन्वयप्रति पनि असन्तुष्टी जनाए ।