बाह्य देशबाट लिने सहयोगमा पक्षपात भयो : अध्यक्ष तिमिल्सिना


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बाह्य देशबाट प्राप्त हुने सहयोगलाई पक्षपाती ढंगले हेरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

उनले पक्षपात गर्दा वाह्य देशबाट प्राप्त हुने सहयोग सरकारले लिन नसकेको टिप्पणी समेत गरेका छन् । काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले वैदेशिक सहयोगलाई पक्षपाती ढंगले हेर्ने र मन्त्रालयमा फाईल अड्काउने शैलीले मुलुकको समुन्नत विकास हुन नसक्ने तर्क तर्क गरे ।

उनले भने,“ दिन्छौँ भनेका कुराहरू लिन सकेका छाैँ ? की कसैले कसैको इसारा गरेपछि खुम्चिएर बस्नुपरेको छ । दिन्छौँ भन्दा पनि लिन नसकेकापनि पनि त उदाहरण यहाँ छन् । अनि कसरी हुनसक्छ ? कुनै सैन्य गठबन्धनको कुरा, अहित हुने गरी सम्झौताबाट लिने कुरा होइन । तर, राष्ट्रहीतको लागि कुनै खालका अनुचित सम्झौता नगरिकन लिने कुरामा पनि आज हामी किन खुला छैनाैँ । अनि कसरी बाहिरबाट सहयोग आउँछ ।”

उनले अन्तर्राष्ट्रिय प्रतिवद्धताहरू पूरा गर्न इमान्दारीपूर्वक योजना बनाउनुपर्ने पनि जोड दिए ।

आफूसँग वैदेशिक सहयोगका लागि विभिन्न देशका लगानीकर्ता आएर कुराकानी गरेपनि सरकारको कार्यशैलीका कारण खुला ढंगले स्वीकार गर्ने वातावरण नबनेको अध्यक्ष तिमिल्सिनाको गुनासो थियो ।

उनले भने,“ राष्ट्रिय, अन्तर्राष्ट्रिय दाताहरू, मित्र राष्ट्रले दिएको सहयोग स्विकाराैँ । देश हितको लागि सबै लिने आँट गराैँ । आएका फाइल जति मन्त्रालयबाट अगाडी बढाऔँ । अर्बौंका फार्ईल पनि अगाडी नबढाउने, निदार खुम्च्याउने, कहीँ केही लाखका फाईल अगाडी बढाउने प्रवृत्ति आज छ त्यो अन्त्य गरौँ । तब मात्र हामीले बाहिरबाट सहयोग र एफडिआर्ई लिनसक्छौँ ।”

आफ्नो रुस भ्रमणका क्रममा भएको सहयोग प्रतिबद्धता सरकारले चासो नदिएको भन्दै अध्यक्ष तिमिल्सिना सरकारसँग असन्तुष्ट छन् । प्रधानमन्त्री, मन्त्रीसँग प्राप्त हुन सक्ने सहयोगबारे पटक पटक छलफल गरे पनि चासो नदिइएको उनको गुनासो छ ।