१३ पालिकामा सन नेपाल लाइफ इन्स्योरेन्सको बीमा जागरण कार्यक्रम


काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका १३ पालिकामा बीमा जागरण तथा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले छैटौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

सबै प्रदेशका गरी १३ पालिकामा अभियान सञ्चालन गरेको कम्पनीले जानकारी दिएको छ । कर्पोरेट कार्यालयद्वारा आयोजित उक्त कार्यक्रम कोशी प्रदेशअन्तर्गत इलामको माईजोगमाई र फाकफोकथुम गाउँपालिका, मधेश प्रदेशअन्तर्गत धनुषाको लक्ष्मीनिया र मुखियापट्टी मुहरनिया गाउँपालिका, पर्साको पर्सौनी र सिरहाको अर्नमा गाउँपालिकामा सम्पन्न गरिएको थियो ।

त्यसैगरी बागमती प्रदेशमा मकवानपुरको थाहा नगरपालिका, गण्डकीमा कास्कीको मादी र तनहुँको ऋषिङ गाउँपालिका, कर्णालीमा दैलेखको गुराँस र सुर्खेतको बराहताल गाउँपालिका, सुदूरपश्चिम प्रदेशमा कैलालीको बर्दगोरिया र कैलारी गाउँपालिकामा कार्यक्रम गरिएको थियो ।

ती कार्यक्रममा स्थानीय तहमा बीमाको पहुँच र चेतना बढाउन स्थानीय पालिका र बीमा कम्पनीबीच समन्वयकारी भूमिकाको विषयमा छलफल भएको जनाइएको छ । स्थानीय सहकारी, विद्यालय तथा सरोकारवालासँग जीवन बीमाको आवश्यकता र फाइदा एवं यसले दिन सक्ने आर्थिक सुरक्षाको प्रत्याभूतिबारे अन्तरक्रिया समेत भएको कम्पनीले उल्लेख गरेको छ ।

छैटौं वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न शाखा कार्यालयबाट सामाजिक उत्तरदायित्व अन्तर्गत ग्रामीण भेगमा रहेका सामुदायिक विद्यालयमा छात्रवृत्ति, स्टेशनरी, खेलकुद सामग्री वितरण गरिएको छ । बालबालिकाको लागि विद्यालयहरुमा आधुनिक पानी फिल्टर जडान गरिएको छ । सो अवधिमा विभिन्न बृद्धाश्रम र गुरुकुलहरुमा खाद्यान्न पनि वितरण गरिएको थियो । त्यसैगरी, स्वास्थ्य संस्थालाई ह्विल चेयर तथा अन्य स्वास्थ्य सेवा सामग्री हस्तान्तरण गरिएको छ ।

मानसिक सन्तुलन गुमाएका बालबालिका रहेको बालगृहमा न्यानो कपडा र मानव सेवा आश्रमका आश्रितलाई खाद्यान्न वितरण गरिएको छ । केही स्थानमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको जनाइएको छ ।