इजरायल घटना : मंगलबार राष्ट्रिय शोकको घोषणा, मृतकका परिवारलाई रु. १० लाख दिइने


काठमाडौँ । सरकारले इजरायलमा भएको घटनामा निधन भएका नेपालीप्रति सम्मान व्यक्त गर्न मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राष्ट्रिय शोकको घोषण गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थिति नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० (दश) जना नेपालीको निधन भएको थियो ।

बैठकले मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।

परराष्ट्र मन्त्रालयले इजराजयल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउने बैठकले निर्णय गरेको छ ।

यस घटनामा निधन भएका नेपालीहरूको परिवारलाई राहतस्वरप प्रति परिवार दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । उक्त रकम अर्थ मन्त्रालयले गृहमन्त्रालयमार्फत निकासा दिने छ ।

इजरायलस्थित नेपाली दूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीब्रता दिने एवं घाइतेहरूको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।