२० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिता आउँदो मंसिर ७ देखि ११ गते


काठमाडौँ । काठमाडौँमा २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल हस्तकला महासंघले आयोजना गर्न लागेको मेला तथा प्रतियोगिता आउँदो मंसिर ७ देखि ११ गतेसम्म सञ्चालन हुने छ ।

महासंघले केन्द्रीय कार्यालय काठमाडौँमा बुधबार पत्रकार सम्मेलन गर्दै मेलामा हस्तकलाका वस्तुहरूको करिब १ सय ५० वटा स्टलहरू रहने जानकारी दिएको छ ।

उद्यमी,कलाकार,कालिगढहरूबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरूको स्थानीय र अन्तराष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पुर्‍याउन तथा नयाँ नयाँ निर्यात योग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्न मेला आयोजना गर्न लागिएको अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए ।

उनले भने,“मेलामा विदेशी प्रर्दशनीकर्तामा भारत,चीन,पाकिस्तान,बंगलादेश आदि देशका व्यापारीहरूको सहभागिता रहने छ भने व्यापार मेलामा महासंघका सदस्यहरू तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेशहरू,जिल्ला हस्तकला संघ र बस्तुगत संघहरू समेतको सहभागिता रहने छ ।”

मेलाको आर्कषणको रुपमा रहेको १८ औँ संस्करणको हस्तकला प्रतियोगिता (जीवन्त प्रतियोगितात्मक हस्तकला प्रर्दशन) अन्तर्गत परम्परागत विधा तर्फ ‘पौभा’ र समसामयिक विधा तर्फ ‘छ्वाली’ कला मा प्रत्यक्ष रुपमा जीवन्त प्रर्दशनी गरी हस्तकला प्रतियोगिता सञ्चालन गरिने कार्यक्रम रहेको छ ।

प्रतियोगितमा प्रतिविध न्यूनतम १५ जनाको सहभागिता रहने छ । प्रतियोगितमा उत्कृष्ट घोषित ३ जना कालाकारहरूलाई नगद पुरस्कार प्रदान गरिने महासंघको भनाई छ ।

पहिलो हुनेले ५० हजार रुपैयाँ,दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा सहभागि सम्पूर्ण कालाकारलाई प्रमाणपत्र प्रदान गरिने छ । साथै यस प्रतियोगितामा उत्कृष्ट घोषित ३ जना कालाकारहरूलाई प्रमाण पत्र प्रदान गरिने महासंघले जनाएको छ ।

मेलाको तेस्रो दिन ७० वर्ष नाघेका वरिष्ठ जेष्ठकलाकारलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको उपाध्यक्ष नविन शाक्यले जानकारी दिए ।

मेला आयोजनाका लागि झण्डै १ करोड रुपैयाँ खर्च हुने अनुमान रहेको र १० लाख जनाले अवलोकन गर्ने आँकलन रहेको अध्यक्ष शाक्यले जानकारी दिए ।

मेलाले अन्तराष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने घरेलु,लघु एवं साना हस्तकला उद्यमी व्यावसइले विदेशी आयातकर्तासँग व्यावसायिक सम्बन्ध स्थापित गर्न सक्ने अवसर समेत प्राप्त हुने महासंघको विश्वास छ ।

मेलामा विदेशीकर्ताका रुपमा भारत,चीन,पाकिस्तान,बंगलादेश आदी मुलुकका व्यापारीको सहभागिता रहने छ ।

स्टलमा धातुकला, सुनचाँदी,सुती एवं ढाकाका सामान,पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरू लगायत अन्य हस्तकलाका सामाग्री प्रर्दशनी तथा बिक्रीमा राखिने महासंघले जनाएको छ ।