चन्द्रगिरीमा आजदेखि व्यवसायिक प्याराग्लाइडिङ सेवा सञ्चालनमा


काठमाडौं । चन्द्रागिरीमा आजदेखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ सेवा सञ्चालनमा आएको छ । बाबु एड्भेन्चर्स प्रालिले कात्तिक १० गते (आज)देखि प्याराग्लाइडिङ सेवा सुरु गरेको जनाएको छ ।

हाइ अल्टिच्युड प्याराग्लाइडिङमा नेपालकै पहिलो प्रशिक्षकसमेत रहेका सानोबाबु सुनुवारले व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको बताए ।

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान गरिने सुनुवारको भनाइ छ । कम्पनीले एकैपटकमा १२ वटा प्याराग्लाइडर उडाउन पाउने अनुमति पाएको छ । दैनिक १ हजार २०० जनासम्मलाई सेवा दिन सकिने उनले बताए ।

कम्पनीले चन्द्रागिरीमा प्याराग्लाइडिङ उड्नका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ शुल्क तोकेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडिमा काठमाण्डौबाट प्याराग्लाइडिङ स्थलसम्म जाने(आउने सुबिधा उपलब्ध हुनेछ ।फोटो र भिडियोको उपकरणको प्रवन्ध कम्पनीले नै गर्ने व्यवस्था मिलाएको छ । सोही प्याकेजका लागि विदेशी नागरिकले भने १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने छ ।

प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब १ करोड ५० लाख रुपैयाँ लगानी भैसकेको र लगानी अझै बढ्ने कम्पनीले बताएको छ ।