प्रधान सेनापति शर्मा चीन प्रस्थान


काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा ३ दिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन् ।

१०औं बेइजिङ सियाङशन फोरममा सहभागिताका लागि प्रधान सेनापति शर्मा आज चीन प्रस्थान गरेका हुन् । उहाँको चिनियाँ जनमुक्ति सेनाका उच्च अधिकारीसँग शिष्टाचार भेट हुने नेपाली सेनाले जनाएको छ ।

चीनमा रहँदा प्रधान सेनापतिले ग्रेट वाल लगायत बेइजिङस्थित महत्वपूर्ण पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम छ । चीनका लागि नेपालका राजदूतले आयोजना गर्ने रात्रीभोजमा समेत प्रधानसेनापति शर्मा सहभागि हुने छन् ।

प्रधान सेनापति शर्माले चिनियाँ जनमुक्ति सेनाका विभिन्न इकाई तथा शिक्षण संस्थाहरुको भ्रमण गरेर कात्तिक १६ गते स्वदेश फिर्ता हुने नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रमणदलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी, प्रधान सेनापतिका सैनिक सहायक तथा स्टाफ अधिकृत लगायतको सहभागिता रहेको छ ।

बेइजिङतर्फ प्रस्थान गर्नु अघि प्रधान सेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा सचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सिताराम खड्काले बिदाइ गरे ।

विदाइका क्रममा प्रधान सेनापति शर्मालाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधान सेनापतिको अनुपस्थितिमा बलाध्यक्ष रथी सिताराम खड्काले कायममुकायम प्रधान सेनापति भई कार्यभार सम्हाल्ने छन् ।