काठमाडौँमा आठौं ‘रियल इस्टेट एक्स्पो–२०२३’ हुने,अर्थतन्त्र चलायमान गराउने विश्वास


काठमाडौँ । काठमाडौँमा आठौं रियल इस्टेट एक्स्पो–२०२३ हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघले गर्ने एक्स्पो २०८० पुस १२ देखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा चल्ने छ ।

विगतमा सातवटा रियल स्टेट एक्स्पो गरेको गरिसकेको छ । यसपटकको एक्स्पोमा नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवर्धक छ भने ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघ सह–आयोजक छन् ।

सिन्थेसिस एण्ड इभेन्ट्स प्रा.लि.ले एक्स्पोको व्यवस्थापन गर्ने छ । काठमाडौँमा आज पत्रकार सम्मेलन गरेर एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको संघले जनाएको छ ।

अर्थतन्त्र चलायमान बनाउने अपेक्षा

घरजग्गा मेलाले अहिले मुलुकमा देखिएको अर्थन्त्रमा देखिएको दबावलाई चलाएमान बनाउने आयोजकको अपेक्षा छ । संघका अध्यक्ष विदुर धमलाले,“हामीे यो एक्स्पोबाट नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास लिएका छौँ । अहिलेको परिस्थितिलाई हामी बदल्न चाहन्छौँ ।”

मेलामा विकासकर्ताहरूले आफ्ना नयाँ उत्पादनहरू उपभोक्ताहरूलाई प्रदर्शन गर्नेछन् र उपभोक्ताहरूले नेपालको आवास तथा जग्गा विकास सम्बन्धी समग्र पक्षहरु बारे पर्याप्त जानकारी प्राप्त गर्नेछन् भन्ने संघको विश्वास छ ।

नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी यो एक्स्पो हुन लागेको भए पनि यसले रियल इस्टेट क्षेत्रको सम्पूर्ण क्षेत्र जस्तैः व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकहरु समेतको सहभागिता हुने अध्यक्ष धमलाले जानकारी दिए ।

एक्स्पोको प्रर्वद्धक रहेको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले सबै व्यावसायी औपचारिक क्षेत्रमा नभएकाले मेलामा विभिन्न क्षेत्रलाई समावेश गरेको बताए ।

उनले भने,“ हामीले जोड दिदै आएको विषय यो हो कि सरकारले कानुन बनाएर घरजग्गा क्षेत्रलाई पूर्ण रुपमा औपचारिक च्यानलमा ल्याउनुपर्छ । यस्तो भयो भने हामीले घरजग्गाकै विषयमा बढी केन्द्रित भएर भएर मेला आयोजना गर्न सक्छौँ ।”

आफूहरूको प्राथमिकता अब विस्तारै जिल्लामा हुने बताए । महासंघका अध्यक्ष लोहनीले यो मेलाले अर्थतन्त्र चलायमान बनाउने बताए । उनले भने,“ हामीलाई विश्वास छ यो एक्स्पोले अर्थतन्त्रलाई उचाल्ने छ ।”

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घर जग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश छन् ।

यस एक्स्पोमा इच्छुक उद्यमीहरुको चाहना बमोजिमका सेवाहरु पनि उपलब्ध गराइने संघको भनाई छ ।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“मुख्यतः यो एक्स्पो जग्गा तथा भवन विकासकर्ता, जग्गा तथा घर खरीदकर्ता, लगानीकर्ता, उपभोक्ता, घर जग्गा एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रवलीकरण तथा पुनः निर्माण सम्बन्धी डिजाइनर र निर्माण सामग्री आपूर्तिकर्ता तथा वितरकहरुका साथै निर्माण उपकरण उत्पादक एवं डिलर, प्लम्बर, इलेक्ट्रिसियन तथा लाईटिङ व्यवसायीहरू र अन्य सेवा प्रदायकहरूका लागि साझा मञ्च हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।”

संघका संस्थापक अध्यक्ष मिनमान श्रेष्ठले घर जग्गा व्यवसाय चलायमान हुन थालेको बताए । उनले भने,“ हामीहरूसँग अब पुराना बाँकी छैनन् । जे हुँदै छ सबै नयाँ बन्दैछन् । अब बजार सकारात्मक बाटोमा गएको छ र एक्स्पोबाट हामी नयाँ चरणमा जाने छौँ ।”

एक्स्पोले व्यवस्थित आवास तथा जग्गा विकासको प्रवर्धनका लागि उत्प्रेरित गर्दै आधुनिक, दिगो एवं व्यवस्थित मानव बस्ती र सहरीकरणको विकासमा थप योगदान पुर्‍याउने संघका अपेक्षा छ ।

संघका वरिष्ठ उपाध्यक्ष दिपक मलहोत्राले घरजग्गा व्यवासायमा आशा गर्ने ठाउँ रहेको बताए ।

उनले भने,“ मेलै गरिरहेकै ठाउँमा पनि कारोबार सुरु भएको छ । व्यवसाय सकारात्मक बाटोमा छ । एक्स्पोले थप अर्थतन्त्र चलायमान बनाउने छ । यतिबेला सबैको सहयोग आवश्यक छ ।”