आईएमई ग्रुपद्धारा भुकम्प पीडितलाई डेढ करोड सहयोग


काठमाडौं । आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गरेका छन्।

ढकालले आज डेढ करोड रुपैयाँको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका हुन्।

अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवद्र्धित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत घोषणा गरिएको उक्त सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महत र मुख्यसचिव डा।बैकुण्ठ अर्याल समेत उपस्थित थिए।

सो कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायतको पनि उपस्थिति थियो।

आइएमई ग्रुपले भूकम्पका कारण मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।