श्रम मन्त्री भण्डारीसँग स्विट्जरल्याण्डकी राजदूतको भेट


काठमाडौँ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि स्विट्जरल्याण्डकी राजदूत डा. डेनिएल म्युलीले भेट गरेकी छन् ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा राजदुत डेनिएलले मन्त्री भण्डारीसँग शिष्टाचार भेट गरेकी हुन् ।

मन्त्री भण्डारीले शिष्टाचार भेट भएको जानकारी दिए । राजदूत म्युलीले भेटमा नेपालमा रोजगारीका अवसर र सुरक्षित आप्रवासनलाई सहयोग गर्ने स्विट्जरल्याण्डको प्रतिबद्धता दोहोराएकी थिइन् ।

स्विट्जरल्याण्डकाे सहयाेगमा सञ्चालन भइरहेकाे सुरक्षित आप्रवासन सम्बन्धी कार्यक्रमको समय सकिन लागेको तर याे प्रभावकारी भएको निष्कर्ष निस्किरहेका बेला राजदूत म्युलीको उक्त प्रतिबद्धता आएको हो ।

मन्त्री भण्डारीले ७ सय ५३ पालिकाको रोजगार सेवा केन्द्रलाई थप प्रभावकारी बनाउने र रोजगारीका लागि ‘हव’ बनाउने राजदूत म्युलीले प्रतिबद्धता जनाएको जानकारी दिए ।

उनले भने,“७ सय ५३ वटै पालिकामा रहेका रोजगार केन्द्रलाई संस्थागत र जनशक्तिको हिसाबले क्षमता अभिवृद्धि गरेर रोजगार सम्बन्धी सेवा एकद्धार प्रणालीबाट दिने विषयमा छलफल भयो ।”