‘बुक बिल्डिङ’ प्रणाली मार्फत पहिलो चरणमा सर्वोत्तम सिमेन्टको आइपीओ निष्काशन


काठमाडौं । अन्तर्राष्ट्रिय सेयर बजारमा अभ्यासमा आइसकेको ‘बुक बिल्डिङ’ प्रणाली नेपालमा पनि आजदेखि कार्यान्वयनमा आएको छ । मंसिर ६ गते बुधबार (आज)देखि पहिलाे पटक सर्वोत्तम सिमेन्टले ‘बुक बिल्डिङ’ प्रणालीमार्फत साधारण सेयरको प्राथमिक निष्काशन गर्दैछ ।

सर्वोत्तमले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई आईपीओको बोलकबोल खुला गरेको हो । उक्त आइपीओमा योग्य संस्थागत लगानीकर्ताले मंसिर १० गतेसम्म बोलकबोल पेश गर्न सक्नेछन् ।

कम्पनीले ६० करोड रुपैयाँको ६० लाख कित्ता सेयर निष्कासन गर्न लागेकोमा पहिलो चरणमा संस्थागत लगानीकर्तालाई ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयरको बोलकबोल खुल्ला गरेको हो ।

उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबाल आइएमआई क्यापिटल रहेको छ ।

बोलकबोलका लागि सुरुमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म बिक्री मूल्य तोकिएकामा उक्त मूल्य परिमार्जन भएर प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म कायम गरिएको छ ।

यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने छन् । यस अघि नै आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले भने आशय मूल्य भन्दा कम मूल्यमा आवेदन पेश गर्न पाउने छैनन् ।

मंसिर ११ गते संस्थागत लगानीकर्ताहरुलाई निष्कासित सेयरको प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिनेछ । कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा बोलकबोल गर्ने आवेदकलाई माग बमोजिमको धितोपत्र सेयर बाँडफाँट गरिने व्यवस्था छ ।

संस्थागत लगानीकर्तामार्फत यसरी निर्धारण भएको कटअफ प्राइसमा १० प्रतिशत छुट दिई कम्पनीले बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणलाई धितोपत्र निष्काशन गर्नेछ ।

सर्वोत्तमले ‘बुक बिल्डिङ’ विधिमार्फत् आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा २०७९ असार २८ गते निवेदन दिएको थियो । १५ महिनापछि गत असोज महिनामा आइपीओ निष्काशन गर्न बोर्डले अनुमति प्रदान गरेको हो । सर्वोत्तम ‘बुक बिल्डिङ’ विधिमार्फत् आइपीओ निष्कासन गर्ने पहिलो कम्पनी बनेको छ ।

Skip This