सर्वोत्तम सिमेन्टको बोलपत्र खोलियो, कटअफ मूल्य ४०१ रुपैयाँ कायम


काठमाडौं । नेपालमै पहिलो पटक बुक बिल्डिङमार्फत् सेयर निष्कासन गरिएको सर्वोत्तम सिमेन्टको आईपीओको बोलपत्र खोलिएको छ ।

सोमबार (आज) बिहान नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेप्सेका सीइओ कृष्ण बहादुर कार्की र सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु प्रसाद न्यौपाने सहितको उपस्थितमा बोलपत्रहरु खोलिएको हो ।

उक्त आइपीओमा ४१ वटा योग्य संस्थागत लगानीकर्ताहरुले ३६ लाख १९ हजार १९० कित्ता सेयरका लागि बोलपत्रमा आवेदन दिएका थिए ।

बोलपत्र पेश गरेका संस्थागत लगानीकर्ताहरू मध्ये सबैभन्दा बढी मूल्य प्रतिकित्ता ४०६ रुपैयाँसम्म परेको छ ।

कुमारी क्यापिटल र कुमारी क्यापिटलले सञ्चालन गरेका म्युचुअल फण्डले सबैभन्दा बढी ४०६ रुपैयाँमा बोलपत्र पेश गरेका छन् ।

कुमारी क्यापिटलले ५ हजार कित्ता, कुमारी इक्विटी फण्डले १५ हजार कित्ता र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ता सेयरका लागि बोलपत्र पेश गरेका छन् ।

यस्तै, नागरिक लगानी कोषले प्रतिकित्ता ४०५ रुपैयाँमा ४ लाख कित्ता सेयरका लागि बोलपत्र पेश गरेको छ ।

संस्थागत लगानीकर्तालाई तोकिएको कट अफ मूल्यभन्दा १० प्रतिशत घटाएर सर्वसाधारणलाई गर्नुपर्ने कानूनी व्यवस्था छ, जसअनुसार कट अफ मूल्य ४०१ रुपैयाँ कायम भएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

कम्पनीले मंसिर ६ गतेदेखि मंसिर १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूका बोलकबोल खुल्ला गरेको थियो ।

कम्पनीले कुल ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी बिक्री प्रबन्धक ग्लोबल आइएमआई क्यापिटलले जनाएको छ ।