जनवरीदेखि महङ्गीएर आउँदैछन् कारहरू, कुन ब्राण्डकाे मूल्य कति बढ्ला ?


काठमाडौँ । भारतमा मारुती सुजुकी, टाटा मोटर्स लगायतका धेरै कम्पनीहरूले विभिन्न समयमा आफ्नो बजार मूल्य बढाउँदै आएका छन् । अब एमजी मोटर्स इन्डियाले डिसेम्बर १ गते आफ्नो लाइन अपमा समावेश गरिएका सबै गाडीहरूको मूल्य जनवरी १, २०२४ देखि बढाउने घोषणा गरेको छ ।

बढ्दो मुद्रास्फीति र उपभोग्य वस्तुको मूल्यमा लगातार वृद्धि भइरहेकाले कम्पनीले यस्तो निर्णय गरेको जनाएकाे । नयाँ मूल्यहरू जनवरी १, २०२४ देखि लागू हुनेछन् । एमजीले मूल्यवृद्धिको स्केल पुष्टि गरेको छैन, तर मोडेलका आधारमा मूल्य बढाउने जानकारी दिएको छ । कम्पनीले हालै हेक्टरको मूल्य ४० हजारले भारूले बढाएर एसयूभीको एक्स शोरुम मूल्य १५ लाख भारू पुर्‍याएको छ ।

यसअघि सेप्टेम्बरमा, एमजीले हेक्टरको मूल्य घटाएको थियो । एमजी इन्डियाको लाइनअपमा हाल कमेट ईभी, हेक्टर, हेक्टर प्लस, एस्टोर, ग्लोस्टर र सबै इलेक्ट्रिक जेटएस ईभी समावेश छन्।

नोभेम्बर महिनामा कम्पनीले बिक्रीको हिसाबले १.८ प्रतिशतको वार्षिक वृद्धि हासिल गरेको कम्पनीले जनाएको छ । यस अवधिमा एमजीले ४ हजार १५४ युनिट बिक्री गरेको छ । गत महिना कार निर्माताको कुल बिक्रीको ३० प्रतिशत विद्युतीय सवारीको बिक्री रहेकाे कम्पनीले जनाएकाे छ ।

एमजी मोटरको स्वामित्वमा रहेको कम्पनी एसएआईसी मोटरले भारतमा एमजीको व्यावसाय विस्तार गर्न जिन्दल साउथ वेस्टसँग साझेदारी गरेको छ। एमओयूमा नोभेम्बर ३० मा लण्डनस्थित एमजी कार्यालयमा एसएआईसीका निर्देशक वाङ सियाओक्यु र जेएसडब्ल्यू समूहका पार्थ जिन्दलले हस्ताक्षर गरेका थिए।

साझेदारीले भारतीय अटो बजारका लागि स्थानीय स्रोतहरू, चार्जिङ पूर्वाधारको विकास, उत्पादन क्षमता बढाउने र हरित गतिशीलतालाई ध्यानमा राखी नयाँ सवारी साधनहरूको विकास र लन्च गर्ने लगायत थुप्रै नयाँ पहलहरू सञ्चालन गर्ने लक्ष्य राखेको कम्पनीकाे दाबी छ ।

सुजुकी र महिन्द्राका कार पनि महँगो हुने

कार निर्माता कम्पनी मारूती सुजुकी, महिन्द्रा एण्ड महिन्द्रा र अडीले समेत जनवरीदेखि आफ्ना कारको मूल्य बढाउने भएका छन् । यी कम्पनीहरूकाे याे निर्णय गर्नुकाे कारण मुद्रास्फीति र वस्तुको मूल्यमा भएको वृद्धिलाई औंल्याएका छन्।

यसबाहेक टाटा मोटर्स र मर्सिडीज बेन्जले पनि आगामी जनवरीदेखि भारतमा आफ्ना कारको मूल्य बढाउने तयारीमा छन्। मारुती सुजुकी भारतको बजार सेयरको हिसाबले सबैभन्दा ठुलो कार निर्माता कम्पनी हो। यसले प्रवेश स्तरको सानो कार अल्टोदेखि बहुउपयोगी कार इन्भिक्टोसम्म सबै उत्पादन गर्दछ।