नाडा र भन्सार विभागबिच बाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका विषयमा छलफल


काठमाडौँ । बुधबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले भन्सार विभागका महानिर्देशक यमलाल भूषालसँंग भेटगरी हालै रसुवामा गएको भीषण बाढीबाट अटोमोवाइल क्षेत्रमा भएको क्षतिका सम्बन्धमा छलफल गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले छलफल गरेको हो ।

छलफलमा नाडाका अध्यक्ष उपे्रतीले भदौ १० गते रसुवा र टिमुरे लगायतका विभिन्न क्षेत्रमा गएको भीषण बाढीका कारण दशंैको लक्षित चीनबाट आयातित सवारी साधनहरू मध्ये धेरै सख्यामा रसुवा नाकाबाट बाढीले बगाएको बताउँदै पीडित पैठारीकर्ताहरूले सरकारकातर्फबाट पाउनु पर्ने राहतका विषयमा छिटो भन्दा छिटो कार्यान्वयनका लागि समेत आग्रह गरे ।

नाडाका महासचिव मिलनबाबु मल्लले चीन सीमा भन्सार नखुलेका कारण चीन सीमा क्षेत्रमा पाँचसय भन्दा बढी सवारी साधनहरु रोकिएको भन्दै त्यसको सहजीकरणका लागि अनुरोध गरे । त्यसैगरी उनले अहिलेसम्म ११ सिटे विद्युतिय माइक्रोवसहरू नछुटेको जानकारी दिँदै यसका लागि समेत पहल गर्न अनुरोध गरे ।

छलफलको अन्त्यमा महानिर्देशक भुषालले यस सन्दर्भमा सरकारले पीडित व्यवसायीहरूका लागि के कस्ता सुविधा र सहुलियतहरु के कसरी दिने हो त्यसको मोडालिटिका सम्बन्धमा अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयबिच गृहकार्य भईरहेको जानकारी दिए ।