एनसेलको सेयर खरिद मूल्य शंकास्पद, छानविन हुन्छ : खनाल


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर खरिद मूल्य शंकास्पद रहेको बताएका छन् ।

बुधबार अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष खनालले एनसेलको खरिद मूल्य शंकास्पद देखिएकोले छानविन हुने बताए ।

सन् २०२९ सम्म नाफा लैजाने गरि सेयर कारोबार देखिएको खनालले बताए ।

एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरुले पाएको र सो सहमतिको कागजातपत्र अध्ययनका लागि माग गरिएको उनले बताए ।

‘नियामकका रूपमा कडाइ गर्न दूरसञ्चार विधेयक धेरै समयदेखि संसद्मा अड्किएको छ’, खनालले भने ‘दूरसञ्चार ऐन २०५३ लाई प्रतिस्थापन गर्न सके धेरै नीतिगत छिद्रता हटेर जाने थियो ।’

प्राधिकरणको स्वीकृति लिएपछि मूल्य र प्रक्रियागत विषय हेरेर मात्रै स्वीकृत दिइने भनेर आफूहरुले एनसेललाई पत्र पठाइसकेको उनले स्पष्ट पारे ।

प्राधिकरणले पठाएको पत्रको जवाफ एनसेलले मंगलबार नै पठाएको जानकारी दिँदै खनालले भने ‘जवाफमा एनसेलले नियामका प्रावधान पालना गर्ने र सेयर खरिद बिक्रीको स्वीकृतिका लागि प्राधिकरणलाई निवेदन गरिने भनेर पत्रमार्फत प्रतिवद्धता जनाएको छ ।’