काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जा असोजकाे तुलनामा कात्तिकमा ०.४२ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाको कात्तिक महिनाको तथ्यांक अनुसार असोजको तुलनामा कात्तिकमा ०.४२ प्रतिशतले कर्जा प्रवाह घटेको हो ।
बैंक तथा वित्तीय संस्थाहरूले असोजमा ५० खर्ब २ अर्ब ७३ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने कात्तिकमा ४९ खर्ब ८१ अर्ब ७३ करोड ८० लाख रुपैयाँमात्र कर्जा प्रवाह गरेको हो । असोजको तुलनामा कात्तिकमा २० अर्ब ९९ करोड ३० लाख रुपैयाँले कर्जा प्रवाह घटेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको तथ्यांक अनुसार कृषि तथा वनसँग सम्बन्धित, मत्स्यसँग सम्बन्धित, धातु उत्पादन, मेसिनरी, विद्युतीय उपकरण र एसेम्बल, यातायात, सञ्चार र सार्वजनिक उपयोगिताहरु, थोक तथा खुद्रा, फाइनान्स, बिमा र रियल स्टेट, खपत कर्जा र अन्य कर्जा प्रवाह घटेको छ ।
खनिजसँग सम्बन्धित, कृषि, वन पेय पदार्थ र गैर खाद्य उत्पादनसँग सम्बन्धित, निर्माण, विजुली ग्यास र पानी, पर्यटन सेवा, अन्य सेवामा बढेको छ भने स्थानीय सरकारमा हुने कर्जा प्रवाह स्थीर रहेको छ ।
खपत कर्जा (कन्जमसन लोन) असोजको तुलनामा कात्तिकमा घटेको छ । असोजमा ९ खर्ब ५३ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबर रहेको खपत कर्जा कात्तिकमा घटेर ९ खर्ब ४९ अर्ब ५९ करोड २० लाख रुपैयाँ बराबरमा झरेको हो ।
कृषि तथा वनसँग सम्बन्धित १.६३ प्रतिशत, मत्स्यसँग सम्बन्धित ०.१६ प्रतिशतश, धातु उत्पादन, मेसिनरी र विद्युतीय उपकरण तथा एसेम्बल १.९७ प्रतिशत, यातायात, सञ्चार र सार्वजनिक उपयोगिता १.७७ प्रतिशत, थोक तथा खुद्रा १.३० प्रशितत, फाइनान्स, बिमा र रियल स्टेट १.८७, खपत कर्जा ०.४२ प्रतिशत र अन्यमा ०.२१ प्रतिशतले कर्जा प्रवाह घटेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, राष्ट्र बैंकका अनुसार खनिजसँग सम्बन्धित ३.९८ प्रतिशत, कृषि, वन पेय पदार्थ र गैर खाद्य उत्पादनसँग सम्बन्धित ०.८० प्रतिशत, निर्माण ०.७५ प्रतिशत, विजुली, ग्यास र पानी ०.०६ प्रतिशत, पर्यटन सेवा १.१९ प्रतिशत, अन्य सेवामा ०.७५ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया दिनुहोस्