ललितपुरको बालकुमारीमा भएको घटनाबारे छानविन गर्न जाँचबुझ आयोग गठन


काठमाडौँ । सरकारले ललितपुरको बालकुमारीमा भएको घटनाबारे छानविन गर्न जाँचबुझ आयोग गठन गठन गरेको छ ।

पुस १३ गते ललितपुर महानगरपालिका वडा नम्बर ८, बालकुमारीमा भएको घटनाका बारेमा निष्पक्ष र वस्तुगत छानविन गर्ने तथा छानविन गर्न भन्दै उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा आयोग गठन गरेको हो ।

आयोगमा पूर्व एआइजी अरुण बिसी र गृह मन्त्रालयका सहसचिव श्री नारायणप्रसाद भट्टराई सदस्य रहेका छन् ।

आयोगले उक्त घटनामा भएको मानवीय, भौतिकलगायत क्षतिको विवरण अध्ययन/विश्लेषण गर्ने छ भने घटनाको कारण र उक्त स्थानमा गरिएको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गरी भएका कमीकमजोरी पत्ता लगाउने कार्यादेश पाएको छ ।

उक्त घटनासँग सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाका बारेमा अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाहीको सिफारिस गर्ने समेत आयोगको कार्यादेश तोकिएको छ ।

आगामी दिनमा यस प्रकारका घटना हुन नदिन अपनाउनुपर्ने उपाय समेटी सुझावसहितको प्रतिवेदन कार्य प्रारम्भ गरेको एक महिनाभित्र पेश गर्ने समय आयोगलाई दिइएको छ ।