सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु


सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । अस्पतालको बिषयलाई लिएर बरहथवा नगरपालिकामा आन्दोलनको भएको विवादलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो।

मृत्यु हुने बरहथवा ६ बस्ने अन्दाजी ३० वर्षका जयशंकर साह रहेको जनाइएको छ । मृतकको टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बहरथवा नगर अस्पताललाई प्रदेश सरकारले आफ्नो मातहतमा लिदैँ स्तरोन्नति गरि ५० शैयाको बनाउन अनुमती दिन नेपाली काँग्रेस सहित पाँच दलिय गठबन्धनका नेता एवं कार्यकर्ताहरुले बरहथवा नगरपालिकाकि मेयर कल्पना कटुवाल सङ्ग माग गरेका थिए ।

तर मेयरले पहिलेको सहमती अनुसार स्तरोन्नतिको प्रकृयालाइ उल्टाएकोले आक्रोशित भिडले नगरपालिका कार्यलयमा ढुंगामुढा गर्दा प्रहरीले बल प्रयोग गर्दै स्थिति नियन्त्रणमा लिन टियरग्यास सहित गोली प्रहार गरेको थियो । बरहथवा नगरपालिकाको कार्यपालिकाको २०७९ असोज ९ गते बसेको बैठकले निर्माणधिन नगर अस्पताललाई स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।