नेपाल टेलिकमको विन्टर अफर, ३३ रूपैँयामा १२०० एमबी डाटा


काठमाडौँ । नेपाल टेलिकमले विन्टर अफर २०८० अन्तर्गत विभिन्न प्याकहरु उपलब्ध गराउने भएको छ । टेलिकमले पुस २७ गतेदेखि लागु हुने गरी विन्टर अफर २०८० अन्तर्गत विभिन्न प्याकहरु उपलब्ध गराउने भएको हो ।

यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार १ दिनको समयावधिका लागि रु. १९ मा ४०० एमबी र रु. ३३ मा १२०० एमबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ७ दिनको समयावधिका लागि लागि रु. १०९ मा ५ जीबी र २८ दिनको समयावधिका लागि रु. २९८ मा ७ जीबी डाटा उपलब्ध हुनेछ ।

स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि रु. १०९ मा ६ जीबी डाटा तथा रु. १३९ मा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाको समयावधिका लागि रु. ३५ मा अनलिमिटेड प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न प्याकहरु पनि उपलब्ध हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुने उल्लेख गरिएको छ ।

विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्न 1415*1# डायल गर्नुपर्ने अथवा कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ ।