लक्ष्यअनुसार राजस्व नउठ्दा दबाबमा छौँ : अर्थमन्त्री महत


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा निर्धारण गरिएको लक्ष्यअनुसार राजस्व उठ्न नसकेको भन्दै सरकार दबाबमा रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले राजस्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको उल्लेख गरे ।

उनले राजस्वमा केही वृद्धि भए पनि संरचनाको परिवर्तनका कारण र लक्ष्यअनुसार उठ्न नसकेको तर्क गरे ।

अर्थमन्त्री महतले भने,“अहिले हामी राजश्वको दृष्टिकोणबाट अझै धेरै दबाबमा छाैँ । राजश्व केही वृद्धि भएको छ । तर हामीले जुन लक्ष्य निर्धारण गरेका थियौँ, त्यो अनुसार हुन सकेको छैन ।”

व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने उल्लेख गरे । आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको अर्थमन्त्री महतको जोड थियो ।

विद्युतीय सवारीसाधनहरुको आयात इन्धनमुखी सवारीको भन्दा दोब्बर बढी भएकाले पनि भन्सार राजस्व कम उठेको उल्लेख गरे ।

इन्धनमुखी सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको भन्सार न्युन राखेकाले पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजस्व उठेको अर्थमन्त्री महतको दाबी थियो ।

उनले भने,“ पछिल्लो समयमा र हामीले विद्युतीय सवारीलाई जुनढंगले प्रवर्धन गर्ने हिसाबले जुन अत्यन्त न्युन, इन्धनबेस गाडीका तुलनामा न्युन भन्सार दर राखेका छौँ । त्यसले गर्दा मात्रै अहिलेकै पछिल्लो आँकडामा ३४/३५ अर्ब कम भन्सार राजस्व उठेको छ ।”

Skip This