प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा जारी घातक इबोला महामारीका कारण मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । यद्यपि, केही प्रभावित स्वास्थ्य क्षेत्रहरूमा लामो समयदेखि नयाँ संक्रमित नभेटिएकाले संक्रमण फैलावट संकुचित बन्दै गएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
राजधानी किन्सासामा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री रोजर काम्बाले महामारी अब प्रान्तीय तहमा भन्दा पनि निश्चित स्वास्थ्य क्षेत्रहरूमा मात्र सिमित हुँदै गएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार सातवटा प्रान्तमा पुष्टि भएका कुल ८ हजार ३ सय संक्रमितमध्ये ४ हजार १८ जनाको मृत्यु भइसकेको छ । यस महामारीमा बिरामीको मृत्युदर ४८.४ प्रतिशत पुगेको छ भने २ हजार १ सय ६२ जना उपचारपछि निको भएका छन् ।
मन्त्री काम्बाकाअनुसार संक्रमण शुरु भएयता सात प्रान्तका ६३ स्वास्थ्य क्षेत्र प्रभावित भएका थिए । तीमध्ये १२ वटा स्वास्थ्य क्षेत्रमा विगत ४२ दिनदेखि र अन्य आठवटा क्षेत्रमा २२ देखि ४२ दिनयता कुनैपनि नयाँ संक्रमण पुष्टि भएको छैन ।
स्वास्थ्य क्षेत्रको संख्यात्मक विवरण प्रश्तुत गर्दै उनले भने, “परिस्थिति अझै पनि परिवर्तनशील छ, तर संक्रमण देखिने स्वास्थ्य क्षेत्रहरूको संख्या घटेको छ । त्यसैले अब यो प्रकोप हाम्रो नियन्त्रणभन्दा बाहिर जान सक्दैन भन्ने हाम्रो निष्कर्ष छ ।”
स्थानीय स्तरमा केही सुधार देखिए पनि अन्तर्राष्ट्रिय स्तरबाट भने शतर्कता अपनाउन आग्रह गरिएको छ । अन्तर्राष्ट्रिय मानवीय तथा चिकित्सा सहायता संस्था ‘मेदेसाँ साँ फ्रोन्तिएर’ (एमएसएफ÷डक्टर्स विदाउट बोर्डर्स) ले रोगको निगरानी र परीक्षण प्रणालीमा देखिएका कमजोरीका कारण वास्तविक क्षति आधिकारिक तथ्यांकभन्दा धेरै बढी हुनसक्ने चेतावनी दिएको छ ।
लगत मे महिनामा घोषणा गरिएको यो इबोला प्रकोप कङ्गोको इतिहासमै सबैभन्दा ठूलो र घातक सावित भएको छ । विश्वव्यापी रूपमा भने यो सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको भयानक महामारीपछिकै दोस्रो ठूलो इबोला संकट हो । स्वास्थ्य अधिकारीहरूले चुनौती बाँकी नै रहे पनि रोकथामका प्रयासहरू सघन बनाइएको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस्