सांसद अन्सारीको अभिव्यक्तिप्रति निजी मेडिकल कलेजहरूको आपत्ति


काठमाडौंँ। निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसन अफ नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य रहबर अन्सारीले प्रतिनिधिसभामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका विषयमा लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संसद्मा उठाइएका विषयको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई एसोसिएसनले आग्रहसमेत गरेको छ ।

निजि मेडिकल कलेजहरूकाे संस्था रहेकाे एसोसिएसनले आज विज्ञप्ति जारी गर्दै सांसद अन्सारीले संसद्मा उठाएका विषय सामान्य प्रकृतिका नभई चिकित्सा शिक्षा, स्नातकोत्तर प्रशिक्षण, अस्पताल सेवा, नियमन तथा विद्यार्थीको शैक्षिक वातावरणसँग सम्बन्धित गम्भीर विषय भएको उल्लेख गरेको छ ।

प्रतिनिधिसभामा अन्सारीले नेशनल मेडिकल कलेजमा कार्यरत नभएका व्यक्तिलाई संकाय सदस्यका रूपमा देखाएर पिजी सिट लिइएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरिएको तथा विद्यार्थीहरूले अनियमितताको विषय उठाएपछि उनीहरूको अध्ययन र आवासमा अवरोध गरिएको आरोप लगाएका थिए ।

ती अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एसोसिएसनले चिकित्सा शिक्षाको गुणस्तर प्रत्यक्ष रूपमा नागरिकको स्वास्थ्य र जीवनसँग जोडिने भएकाले यस्ता आरोपको निष्पक्ष अनुसन्धान हुनुपर्ने जनाएको छ । साथै कुनै मेडिकल कलेजमा अनियमितता भएको तथ्य र प्रमाण भए त्यसको छानबिन तथा कारबाहीका लागि चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिललगायत नियामक निकाय विद्यमान रहेको स्मरण गराएको छ ।

विज्ञप्तिमा भनिएको छ,“कुनै मेडिकल कलेजमा अनियमितता भएको तथ्य र प्रमाण छन् भने त्यसको छानबिन र कारबाहीमा लागि चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायत अधिकारप्राप्त निकाय विद्यमान छन् । अनियमितता प्रमाणित भएमा जोसुकै भए पनि प्रचलित कानुनअनुसार कारबाही हुनुपर्छ ।”

यद्यपि आरोप र प्रमाणित तथ्य एउटै विषय नभएको उल्लेख गर्दै एसोसिएसनले संसद्जस्तो गरिमामय थलोमा गम्भीर आरोप प्रस्तुत गर्दा तथ्य, प्रमाण र जिम्मेवारीप्रति उच्च संवेदनशीलता अपनाउनुपर्ने धारणा एसोसिएसनको छ ।

एसोसिएसनले भनेको छ,“अधिकारप्राप्त निकायको छानबिन तथा आधिकारिक निष्कर्ष आउनुअघि आरोपलाई नै स्थापित तथ्यका रूपमा प्रस्तुत गरिँदा सम्बन्धित संस्थाको प्रतिष्ठामा मात्र होइन, त्यहाँ अध्ययनरत विद्यार्थीको मनोबल र भविष्य, चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत प्रतिष्ठा, उपचाररत बिरामीको विश्वास तथा समग्र चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीप्रतिको सार्वजनिक भरोसामा समेत असर पर्न सक्छ ।“

एसोसिएसनले कुनै व्यक्ति वा संस्था कानुनभन्दा माथि हुन नसक्ने र प्रमाणित अनियमितताको संरक्षण हुन नहुने स्पष्ट पार्दै प्रमाणित हुन बाँकी आरोपका आधारमा सार्वजनिक रूपमा दोषी ठहर गर्ने अवस्था पनि बन्न नहुने जनाएको छ ।

एसोसिएसनले चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिल तथा अन्य अधिकारप्राप्त निकायलाई संसद्मा उठाइएका विषयको शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ । साथै विद्यार्थीको भविष्य, बिरामीको सेवा तथा नेपालको चिकित्सा शिक्षाप्रतिको जनविश्वासलाई केन्द्रमा राखेर सबै पक्षलाई तथ्यमा आधारित र जिम्मेवार अभिव्यक्ति दिन पनि एसोसिएसनले अनुरोध गरेको छ ।