बैँकहरूमाथि अध्यक्ष ओलीको टिप्पणी,‘मिटरब्याजी भए’


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरु मिटरब्याजी भएको टिप्पणी गरेका छन् ।

शुक्रवार बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको ७ औं राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मिटरब्याजीको जस्तो गरी तीन महिनापछि ब्याजलाई पनि सावाँमा गाभ्ने भएकाले बैंकहरु पनि मिटरब्याजी जस्तै भएको टिप्पणी गरेका हुन् ।

उनले भने, “बैंकहरूले नराम्रो नमान्नु होला । बैंकहरू पनि मिटरब्याजी नै छन् । बैंक मिटरब्याजी होइन र तीन महिनाको ब्याजलाई सावाँमा गाभ्नु मिटरब्याजी त्यही हो । बैंकहरू पनि मिटरब्याजी भएका छन् । तीन महिनामा साँवामा गाभ्ने भएन । कर्जा लैजानेले तिर्नु पनि पर्छ होला ।”

ऋणीले लिएको कर्जाको ब्याज तीन महिनामा सावाँमा गाभ्न नहुने उल्लेख गर्दै त्यस्तो गरे मिटरब्याजीसरह हुने अध्यक्ष ओलीको भनाई थियो ।

उनले बैंकबाट कर्जा लिनेले पनि लगानी गरेर प्रतिफल आएपछि तिर्ने भएकाले बैंकले त्यहीअनुसार बुझ्न आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र बैंकको ब्याजदर दोब्बर बनाएर बैंकले मात्रै कमाउने तरिका ठिक नभएको उल्लेख गरे ।

उनले भने,“ कर्जा लैजानेले तिर्नु पनि पर्छ होला । कर्जा तिर्नेले प्रतिफल लिएर तिर्ने हो । लगानी गरेर प्रतिफल आउनुपर्छ । प्रतिफल आउन नसक्ने गरी केही वर्षभित्र डब्बल कसरी हुन्छ । अरुले नकमाउने बैंकले मात्रै कमाउने तरिका ठिक भएन ।”

अध्यक्ष ओलीले बैंकहरूले ऋण आवश्यक नभएकालाई नै बिना धितोमा ऋण दिने गरेको दाबी समेत गरे । बैंकको ऋण सदुपयोग भए/नभएको अध्ययन र अनुगमन गर्न आवश्यक रहेको भन्दै अध्यक्ष ओलीले कर्जा दिँदा लिएको धितो छ भन्दैमा धितो लिलाम गर्नु र ऋण असुल गर्नु मात्रै बैंकको काम नभएको टिप्पणी गरे ।

बैंकहरूले ऋणीलाई कर्जा दिँदा ब्याजदर घटाउन÷बढाउन सकिने उल्लेख गरेको भए पनि बैंकहरूले एकतर्फी रुपमा बढाउने काम मात्रै गरेको उल्लेख गरे । बैंकबाट कर्जा लिँदा दुई पक्षीय सहमति बिना ब्याजदर घटबढ गर्न नपाउने व्यवस्था गर्नुपर्ने अध्यक्ष ओलीको भनाई छ ।