काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई राजस्व सङ्कलन लक्ष्यका लागि इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।
सरकारको राजस्व सङ्कलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका महानिर्देशकद्वय यमलाल भुसाल र डा.भीष्मकुमार भुसाल र भन्सार विभागको उपमहानिर्देशकको जिम्मेवारी पाएका सहसचिव प्रेमप्रसाद आचार्यलाई कार्यक्षेत्रमा खटिनुअघि अर्थमन्त्री वाग्लेले मन्त्रालयमा भेट गर्दै निर्देशन दिएका हुन् ।
“व्यावसायिक वातावरण र मनोबल उच्च राख्दै राजस्वको लक्ष्य भेटिने गरी मिसन १६ खर्बका लागि इमानदारीपूर्वक लाग्नुहोस्,“ अर्थमन्त्री वाग्लेले भने,“चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबैखाले सहयोग उपलब्ध गराउँछ ।”
अर्थमन्त्री डा.वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर चुस्त र पारदर्शी बनाउन पनि निर्देशन दिए ।
भन्सार र कर आम्दानी बढाएर मुलुकको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामथ्र्यमा मुलुकले विकासको गति लिने उनको भनाई छ ।
भन्सार र करको लक्ष्य पूरा गर्ने कदम चाल्दा व्यावसायिक वातावरण राम्रो बनाउने र प्रणालीको चुहावट टाल्नु मुख्य काम भएको अर्थमन्त्री वाग्लेले बताए ।
अर्थमन्त्री डा. वाग्लेले दुई महानिर्देशक र भन्सारमा नयाँ आएका उपमहानिर्देशक प्रेमप्रसाद आचार्यलाई मातहतका निकायमा गलत काम गर्ने कर्मचारीमाथि निर्मम बन्न र इमानदारीपूर्वक काम गर्नेलाई पुरस्कार र प्रोत्साहन सुनिश्चित रहेकोबारे अवगत गराउन आग्रह गरे ।
प्रशासन संयन्त्रमा राम्रो र क्षमतावान् भनी चिनिएका अब्बल दुई सहसचिवलाई राज्यको प्रतिष्ठासँग जोडिएको निकायको नेतृत्वमा ल्याएको दाबी गर्दै अर्थमन्त्री वाग्लेले ६–८ महिनामै नतिजा देखिनेमा आशावादी रहेको पनि बताए ।
असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव यमलाल भुसाल, डा.भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्यलाई अर्थ मन्त्रालयमा सरुवा गरेको थियो । असार २२ मा मन्त्रालयमा हाजिर भएका तीनै जना सहसचिवलाई मन्त्रालयले क्रमशः भन्सार र आन्तरिक राजस्वको महानिर्देशक र भन्सारको उपमहानिर्देशकको जिम्मेवारी तोकेको थियो ।
नयाँ जिम्मेवारी पाएका तीनै जना सहसचिवले मन्त्रीको निर्देशनलाई इमानदारीपूर्वक पालना गर्ने बताउनुभयो।


प्रतिक्रिया दिनुहोस्