सात महिनामा ५१ लाख ६७ हजार रुपैयाँको मह निर्यात


काठमाडौँ । नेपालले चालू आर्थिक वर्षको ७ महिनामा ५१ लाख ६७ हजार रुपैयाँ बराबरको मह निर्यात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालले चालू आर्थिक वर्षको माघ महिनासम्म ३ हजार १८९ किलो ग्राम मह निर्यात गरेको हो । नेपालले ५१ लाख ६७ हजार रुपैयाँ बराबरको प्रशोधन नगरेको कच्चा मह र अन्य प्राकृतिक मह निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

अष्ट्रेलिया, इजरायल, नर्वे, स्विटजरल्याण्ड, युनाइटेड अरब इमिरेट्स, भियतनाम, चीन, जापान, मलेसिया र संयुक्त राज्य अमेरिकामा मह निर्यात भएको छ ।

नेपालले सबै भन्दा बढि मह मलेसियामा निर्यात गरेको छ । मलेसियामा ४ लाख ७८ हजार रुपैयाँ बराबरको १ हजार ६५६ किलो ग्राम मह निर्यात भएको छ ।

निर्यात मूल्यको आधारमा भने अमेरिकामा सबैभन्दा बढि मूल्यको मह निर्यात भएको हो । भन्सार विभागको अनुसार अमेरिकामा ४० लाख ३१ हजार रुपैयाँ बराबरको ६०९ किलो ग्राम मह निर्यात भएको हो ।