सहकारीको समस्यामा नियामकको भूमिका पनि संकास्पदः मीनराज कँडेल


काठमाडाैँ । बाग्मती प्रदेश बचत तथ ऋण सहकारी संघ (बागमती प्रोस्कून) को आयोजनामा आजबाट भक्तपुरमा ‘बागमती प्रदेश साकोस समिट’ सुरू भएको छ । ‘सहकारी सुदृढीकरणको आधारः सहकार्य, एकता र विश्वास’ भन्ने नाराका साथ दुई दिने साकोस समिट सुरू भएको हो ।

कार्यक्रमको संयुक्त उद्धघाटन गर्दै राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष मीनराज कडेलले सहकारी अभियानको सुदृढिकरणका लागि सबैले हातेमालो गर्न आवश्यक रहेको बताए ।

“बचत तथा ऋणको कारोबार गर्ने तथा सहकारीको मूल्य मान्यता भन्दा बाहिर रहेका सहकारीहरूमा समस्या सिर्जन भएको छ । यसलाई समाधान गर्नको लागि सबैको हातेमालो आवश्यक छ”,उनले भने, “अहिले सहकारीमा नियामक निकायको भूमिका पनि संकास्पद छ । सहकारी क्षेत्रमा देखिएको प्रतिकुल अवस्थामा पनि एउटै संस्थाले एकैदिन २४ वटासम्म सेवा केन्द्र सञ्चालनका लागि स्वीकृति दिएको छ । यसले पनि सहकारी क्षेत्रमा समस्या ल्यायो ।”

उनले सहकारीले २२ प्रतिशतसम्म ब्याज दिएर सदस्यबाट ठूलो बचत लिएका संस्थाहरु नै समस्यामा परेको बताए । कसैले सहकारी जोगाईदिने भन्दा पनि सहकारी आफैले सदस्यहरुको विश्वास जित्दै समस्याको समाधान गर्न केन्द्रित हुनपर्छ उनले सुझाए ।

यस्तै, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलले बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्याहरूको समाधानमा यस्ता किसिमका समिटले समाधान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न, दीगो सहकारी अभियान बनाउन, स्वनियमन र सुशानसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महासंघले नेतृत्व गर्ने उनको भनाइ छ । सहकरीले वित्तीय साक्षरता, रोजगारी सृजना गर्न, समावेशिता विकास र संगठन निमार्णमा सहकारीको भूमिका महत्वपूर्ण रहेको उनले जानकारी दिए ।

बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटाले सहकारी सस्थाहरुलाई सुशासित र मर्यादित बनाउनको लागि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ प्रतिवद्ध रहेकोे बताए ।

“सहकारी क्षेत्रमा भएको जोखिम ब्यावस्थापनको लागि नै संघ केन्द्रित रहेको छ”, उनले भने । साकोस समिट सहकारी क्षेत्रमा सदस्यह?को बचतको सुरक्षा गर्ने, देखिएका जोखिमलाई न्यूनीकरण विषयमा केन्द्रित हुने उनको भनाइछ । सहकारी अभियानलाई नीति र विधि अनुसार लैजानको लागि संघ सधै प्रतिवद्ध रहेको उनको भनाइ छ ।

सहकारी क्षेत्र मजबुत बनाउनको लागि सबै निकायसँग मिलेर जानु पर्ने उनले औंल्याए । सहकारीका विषयमा सरकार र सरोकारवाला निकायहरूसँग बहस र पैरवी निरन्तर रुपमा भैरहने सापकोटाले बताए । दुई दिनसम्म साकोस समिटमा १३ जिल्लाका २७० जना सहकारीकर्मीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।