दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न राष्ट्रिय सहकारी महासंघको माग


काठमाडौँ । दुग्ध किसानको बक्यौता तत्काल भुक्तानी गर्न राष्ट्रिय सहकारी महासंघले सरकारसँग माग गरेको छ । महासंघले आज (विहिबार) एक विज्ञप्ति जारी गर्दै ६ महिनादेखि किसानले दूधको भुक्तानी नपाउँदा ठूलो क्षति व्यहोर्नु परेको भन्दै सरकारसँग माग गरेको हो ।

गत मङ्सिरमा सरकारको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रीले नै गरेको सहजीकरणमा पुससम्मको बक्यौता तिर्ने र त्यसपछि नियमित रकम निकासा गर्ने आश्वासन लगायतका विगतमा भएका सम्झौताका बाबजुद पनि बक्यौता वितरण हुन नसकेकोमा महासंघले खेद प्रकट गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

“सम्झौता कार्यान्वयन नगर्नाले दुग्ध किसानहरूलाई आर्थिक तनाव मात्र बढाएको छैन, संस्थागत संयन्त्रहरूमा समेत विश्वास गुम्दै गएको अवस्था छ । दुग्ध कृषकका गुनासो सम्बोधन गर्न र सहकारी प्रणालीमा विश्वास पुर्नस्थापित गर्न द्रुत र निर्णायक कदम चाल्न हामी सरकारसँग जोडदार माग गर्दछौ”, महासंघले विज्ञप्तिमा भनेको छ ।

ग्रामिण अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको दुग्ध किसानको समस्या समाधानलाई प्राथमिकता दिन सरकारी निकाय र उद्योग प्रतिनिधि लगायत सबै सरोकारवालाहरूलाई महासंघले आग्रह गरेको छ ।