बढ्यो विदेशी विनिमय सञ्चिती


काठमाडौँ । २०८० असारको तुलनामा कुल विदेशी विनिमय सञ्चिती २०८० माघ मसान्तमा १९.९ प्रतिशतले वृद्धि भएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिती रहेको थियो भने माघ मसान्तसम्म १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिती १८.६ प्रतिशतले वृद्धि भएको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १३ अर्ब ८९ करोड पुगेको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०८० माघ मसान्तमा १६ खर्ब २३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भएको हो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्घि भई २ खर्ब २१ अर्ब २ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । २०८० माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ को सात महिनाको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चिति १४.७ महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

२०८० माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३४.३ प्रतिशत, १०२.४ प्रतिशत र २८.० प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।