नेपाली व्यवसायीहरुले वस्तु तथा सेवा बिक्री गरेवापत सिधै विदेशी मुद्रा स्वीकार गर्न सक्ने


काठमाडौँ । नेपाली व्यवसायीहरुले वस्तु तथा सेवा बिक्री गरेवापत परिवत्र्य विदेशी मुद्रा स्वीकार गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले नेपाली व्यवसायीहरुले विदेशबाट मर्चेन्ट भुक्तानी स्वीकार्न सक्ने उल्लेख गरेको हो । वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको खातामा प्राप्त हुने गरी क्यूआर कोड मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट स्वीकार गर्न सकिने जनाएको हो ।

यस कारोबारमा हुने जोखिमहरु र सोका निराकरण तथा न्यूनीकरणका उपायहरु सम्बन्धित वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरु आफैँले विश्लेषण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, नेपालमा कार्यरत भारतीय नागरिकले भारतको बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा प्रति दिन १५ हजार भारतीय रुपैयाँ र प्रति महिना १ लाख भारतीय रुपैयाँ जम्मा हुने गरी पारिश्रमिक वापतको सटही सुविधा पाउने भएका छन् ।

भारतीय नागरिकले नेपालको वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको बैंक खातामा आबद्ध इ बैंकिङ, अन्तर बैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोड मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा नेपालबाट रकम पठाउन सक्नेछन् ।

भारतबाट नेपालमा विप्रेषण भित्राउन नेपाली नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाताबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा पठाउन सकिने उल्लेख गरिएको छ ।