चुरे क्षेत्रमा एक करोड बाँस रोपिने, अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरिने


काठमाडाैँ । सरकारले एक करोड बाँस रोप्ने तयारी गरेको छ ।

पछिल्लो समय चुरे क्षेत्र जोखिममा परेको आवाज उठपछि सरकारले एक करोड बाँस रोप्ने गरी प्रस्ताव तयार गर्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा चुरे क्षेत्रमा एक करोड बाँस रोप्नका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा रहेको जानकारी गराएका हुन् ।

उनले भने,“चुरे क्षेत्रमा एक करोड बाँस रोप्नका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा छ । चुरे–तराई मधेस क्षेत्रको संरक्षणमार्फत तराई मधेसको मरुभूमिकरण हुनबाट रोक्न, चरेको माथिल्लो तटिय क्षेत्रमा संरक्षणको गतिविधिलाई प्राथमिकता दिनेगरी कार्य भइरहेको छ ।”

चुरे–तराई/मधेस क्षेत्रको संरक्षणमार्फत तराई÷मधेसको मरुभूमिकरण हुनबाट रोक्न, चुरेको माथिल्लो तटीय क्षेत्रमा संरक्षणको गतिविधिलाई प्राथमिकता दिनेगरी कार्य भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

उनले चुरे क्षेत्रबाट गिट्टी, बालुवाको उत्खनन्लाई व्यवस्थित गर्न एवं चुरे संरक्षणका लागि एकीकृत ऐन तर्जुमा गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्रदान भइसकेको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले चुरे क्षेत्रको संरक्षण र व्यवस्थापनमा जलवायुवित्त परिचालन गरी सञ्चालन भइरहेको चुरे उत्थानशिलता आयोजनालाई अझ सशक्त बनाइने विश्वास दिलाए ।