भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको छः मन्त्री चौधरी


काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान लागि सरकारले गम्भिर भएर पहल गरिरहेको बताएका छन् ।

बुधबार आफनो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले उक्त समस्या समाधानका लागि प्राविधिक तथा कुटनीतिक पहल गरिएको जानकारी गराइन् ।

विगत ३ दिन यता इलामलगायतका देशभरका चिया उद्योगीहरुले चिया निर्यातमा समस्या देखिएपछि आफनो उद्योग बन्द गरेका छन । मन्त्री चौधरीले चियाको निर्यातमा सहजीकरण गर्न सरकार लागि परेको बताइन् ।

मन्त्रीले भनिन्,‘विगतमा जस्तै चिया निर्यात सहजीकरण गर्न चिया उद्योगीहरुका समस्या समाधान गर्नका लागि मन्त्रालयको गम्भिर भएर पहल गरिराखेको छ । र यस विषयमा प्राविधिक तथा कूटनीतिक रुपमा आवश्यक पहल गरिएको र छलफल सकारात्मक दिशातिर गईराखेको जानकारी गराउन चाहन्छु ।’

त्यस अवसरमा मन्त्री चौधरीले सरकारले बनाएका योजनाहरु कार्यान्वयनमा सांसदहरुले महत्वपूर्ण सहयोग गर्ने विश्वास पनि व्यक्त गरिन् ।