देशका विभिन्न भागमा वर्षा


काठमाडौँ । आज बिहानदेखि सातै प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।

हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ ।

अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । काठमाडौँ उपत्यकाका पानी परिरहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा २–३ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको तथा देशका तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।