काठमाडौँमा प्रथम नेशनल हर्टिकल्चर एक्स्पो हुँदै, एक करोडको कारोबार हुने अपेक्षा


काठमाडौँ । नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा पहिलो नेशनल हर्टिकल्चर एक्स्पो २०८० हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा आउँदो चैत १६ गतेदेखि १९ गतेसम्म एक्स्पो हुने भएको हो।

एक्स्पोमा व्यवसायीक स्टल ७४ वटा, फुड स्टल ४ वटा , अफिसियल स्टल ७ वटा, प्रतिष्पर्धाको स्टल ५ वटा, सहित जम्मा ९० वटा स्टल रहने आयोजकले जनाएको छ ।

नर्सरी व्यावसायी संघ नेपालका अध्यक्ष रामजी तिमिल्सिनाका अनुसार मेलामा पुष्प नर्सरी, फलफूल नर्सरी, जडिबुटी नर्सरी र कृषि तथा वन नर्सरी गरि चार विधाका नर्सरीहरू प्रदर्शनीमा राखिने छन् ।

व्यवसायीहरूको क्षमता विकासका लागि स्वस्थ प्रतिस्पर्धा गराई व्यवसायीहरूको हौसला बढाउन शिल्ड नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने आयाेजकले जनाएकाे छ ।

प्रतिस्पर्धाको मूल्याङ्कन गर्न कृषि वागवानी विज्ञ, वनस्पति विज्ञ साथै माटो तथा पर्यावरण विज्ञसहितको संलग्नतामा तीन सदस्यीय मूल्यांकन समिति समेत गठन गरिएको छ । नर्सरी व्यवसायी मध्यबाट १ जनालाई वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मानद्वारा सम्मान गरिने मेला संयोजक रामजी कुँवरले बताए ।

मेलामा सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थी र जेष्ठ नागरिकको लागि ५० रुपैयाँ प्रवेश शुल्क लाग्ने आयोजक पक्षले जनाएको छ । मेलामा ५० हजार जनाले अवलोकन गर्ने र करिब एक करोडको व्यावसायिक कारोबार हुने मेला संयोजक कुँवरले जानकारी दिए ।