धितोपत्र बोर्डको अध्यक्ष चयन गर्न अर्थमन्त्री पुनको निर्देशन


काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छिटो चयन गर्न अर्थमन्त्री वर्षमान पुनले निर्देशन दिएका छन् ।

चालु आर्थिक वर्षको फागुन महिनासम्मको अर्थ मन्त्रालयको प्रगति समीक्षा बैठकमा अर्थमन्त्री पुनले अर्थसचिव कृष्णहरि पुष्करलाई पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको नेतृत्व छिटो चुन्न निर्देशन दिएका हुन् ।

लामो समयसम्म नियामक निकाय नेतृत्वविहिन हुनु राम्रो नभएकाे भन्दै यो प्रक्रिया चाँडै सकाउन उनले निर्देशन दिएका छन् ।

मन्त्री पुनले भने, ‘अध्यक्षका लागि आवेदन प्राप्त भइसकेकाले तत्काल प्रक्रिया अगाडि बढाउनुस् ।’

धितोपत्र ऐनको व्यवस्थाअनुसार अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिले अध्यक्षका लागि आवेदन माग गरिसकेको छ ।

धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका छन् । अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले १९ आवेदकहरुमध्ये बाट कम्तीमा पाँच जनाको नाम सर्टलिस्ट गरेको छ । ।