चितवनमा महिला नेतृत्व कृषि सम्मेलन सुरू, ‘सरकारको प्राथमिकतामा कृषि छ’: मन्त्री साह


काठमाडौँ । नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सुरू भएको छ ।

चितवन प्रदर्शनी केन्द्रमा सुरू भएको महिला नेतृत्व कृषि सम्मेलनको शनिबार कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले उद्घाटन गर्दै सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी छन् । कृषि क्षेत्रको विकास, कृषि पेशाको सम्मान एवं कृषकलाई प्रोत्साहन गर्न आफु प्रतिबद्ध रहेको उनले बताइन् । मन्त्री साहले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषिको आधुनिकीकरण गरिनुपर्ने बताइन् । त्यसका लागि नीतिगत रूपमा सहजीकरण गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उच्च परिमाणमा कृषि उपज आयात भइरहेको भन्दै कृषिको आधुनिकीकरण गर्दै बजारीकरणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

“कृषि वस्तुहरुमा समेत हाम्रो परनिर्भर बढेको छ । परनिर्भरता घटाउँदै लैजान आन्तरिक उत्पादन र त्यसको खपतमा ध्यान दिन आवश्यक छ” उनले भनिन्, “आगामी बजेटले आन्तरिक उत्पादन र प्रयोग प्रोत्साहन गर्ने नीति अबलम्बन गर्नुपर्छ । कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन र खपत बढाउन आवश्यक छ ।” उनले कृषि पेशालाई सम्मान गर्न, कृषकलाई प्रोत्साहित गर्दै उत्पादन र उत्पादकत्व बढाउने नीति अबलम्बन गर्न आग्रह गरिन् । उनले आगामी बजेट स्वदेशी उद्योगहरुको प्रबद्र्धन गर्ने रणनीतिमा केन्द्रित हुने विश्वास व्यक्त गरिन् ।

नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले कृषि क्षेत्रको व्यवसायीकरणमा जोड दिदैँ कृषकले दुःख गरेर उत्पादन गरेका कृषि उपजको बजारीकरणका लागि सहयोग गर्नुपर्ने बताए ।

परिसंघ महिला नेतृत्व फोरम सभापति छायाँ शर्माले शर्माले सम्मेलनमा महिलामूखी कृषि यान्त्रीकरण, नेपाको माटो सुहाउँदा कृषि विकास, दीगो कृषि विकासका लागि कृषक महिलाका सवाल, महिलाको कृषिमा संलग्नताको सम्मान र उद्यमशीलताका लागि लिइनुपर्ने आवश्यक कदमका विषयमा गहन छलफल हुने बताए । कृषिको महत्व बुझाउन र दीगो भएर लाग्न यो सम्मेलनले उत्प्रेरित गर्ने विश्वास लिइएको शर्माको भनाइ छ । “अहिले कृषि सरकारको प्राथमिकतामा नपरेको र कृषकलाई पनि हिनताबोध हुने क्षेत्र परेको छ । कृषकलाई प्रोत्साहन गर्न यो सम्मेलन गरेका हौं”, उनले भने ।

कृषिका विद्यमान समस्या, चुनौती तथा अवसर पहिल्याउँदै कृषि क्षेत्रमा महिला कृषकहरूलाई अगाडि बढाउन लिइनुपर्ने नीतिगत व्यवस्थाका विषयमा नेपाल सरकारलाई सुझाव पेश गरिने छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा उद्यमशीलतामा महिलाको सहभागिता तथा नेतृत्वका विषयमा छलफल हुने छ ।

चितवन उद्योग संघका अध्यक्ष सुर्य प्रसाद न्यौपानेले चितवनको पर्यटन र कृषि उद्यमशीलतामा संघले काम गरिरहेको बताए । ठुलो मात्रामा कृषकको संख्या चितवनमा रहेको र भरतपुर पर्यटन बर्ष पनि भएकाले यो कृषि सम्मेलन महत्वपूर्ण भएको उनले बताए ।

जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद अधिकारीले कृषि पेशा घाटाको पेशा रहेको चर्चा गर्दै विश्वको कृषि उत्पादनको औषत उत्पादन पनि नेपालले नभेटेको बताए । नीति निर्माणमा संलग्नहरुले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिए नेपालको कृषिले राम्रो फड्को मार्ने उनले बताए ।

सम्मेलनको प्रमुख वक्ता डा. शोभा पौडेललले सम्मेलन कृषिलाई लक्षित गरेर गरिएको पहिलो सम्मेलन बताउँदै यसरी कृषिलाई नै केन्द्रित गरी कमै कार्यक्रम हुने गरेको बताए । कृषि पेशामा महिलाको संलग्नता धेरै भएपनि प्रोत्साहन नगरिएको बताए ।

सम्मेलनको मुख्य नारा कृषिको रूपान्तरणकारी भविष्यः कृषिमा आधारित व्यवसायमा नवप्रवद्र्धन, दीगोपन र उद्यमशीलताको प्रवद्र्धन रहेको छ । आइतबारसम्म चल्ने सम्मेलनमा कृषि प्रदर्शनी समेत गरिएको छ ।