कर्णाली राजमार्ग स्तरोन्नतिका लागि बजेटको व्यवस्था नभए आन्दोलन गर्छौंः शाही


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णाली राजमार्गको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था नभए सरकारबिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले जुम्ला जोडने सो राजमार्गको स्तरोन्नति नभएका कारण त्यहाँ जनता अलपत्र अवस्थामा बस्नुपरेको उल्लेख गर्दै अब पनि त्यसका लागि बजेटको व्यवस्था नभए संसद र सदन दुवैमा आन्दोलन गर्ने बताए ।

प्रमुख सचेतक शाहीले कर्णालीका नागरिकले पनि बाँच्न पाउने अधिकार भएकाले सरकारले त्यसको व्यवस्था गर्न ढिलाई गर्न नहुने बताए । उनले जुम्लाले मात्रै स्याउ, मार्सी धान, जडिबुटी लगायतबाट देशलाई करोडौं दिनसक्ने अवस्था भएकाले सरकारले त्यस क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।

उनले भने, “जुम्लामा सडक राम्रोसँग स्तरोन्नति हुन नसकेर अलपत्र अवस्थामा छ । २०६३ साल चैत्र महिनाको ३० गते जुम्लाको कर्णाली राजमार्ग भन्छौं । विशेष गरी जुम्ला र सुर्खेत जोडने सो राजमार्गको शिलान्यास भयो । र गाडी जुम्ला पुग्यो । देशमा चरम द्वन्द्व थियो । कालीमा धेरै मानिसहरु मारिए । तर पनि बाटो पुग्यो । जुम्लेलीले खुशी मनाए । अहिलेसम्म ४३२ वटा सवारी दुर्घटना भए । २८७ जनाको ज्यान गएको छ । हजारौं मानिसहरु आज पन अलपत्र अवस्थामा परेका छन् ।”

सांसद शाही कर्णाली राजमार्ग व्यवस्थित नहुँदा सवारी घुर्टनामा परी धेरैको ज्यान गएको पनि स्मरण गराए ।