अबदेखि सरकारी ऋणपत्रको निष्काशन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले गर्ने


काठमाडौं । नेपाल सरकारले निष्काशन गर्ने ऋणपत्रको बोलकबोल अबदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पििडएमओ)ले गर्ने भएको छ ।

सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले जारी गर्दै आएको ट्रेजरी बिल्स र विकास ऋणपत्र, वैदेशिक रोजगार बचतपत्र, नागरिक बचतपत्रको बोलकबोल अबदेखि पिडिएमओले जारी गर्ने भएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन नियमावली २०८०’ गत चैत एक गतेदेखि कार्यान्वयनमा आइसकेकोले हालसम्म राष्टबैंकले निष्काशन गर्दै आएको सरकारी ऋणपत्रको सार्वजनिक निस्कासन पिडिएमओले गर्ने कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले बताए ।

उक्त व्यवस्था अनुसार पिडिएमओले चैत्र १९ गते १३ सय ५ करोड रुपैयाँ बराबरको ९१ दिन र १८१ दिनको ट्रेजरी बिलको बोलकबोल गरेको छ ।

ऋणपत्र निष्काशनसम्बन्धी कार्यालयको पहिलो अभ्यास भएको हुनाले नेपाल राष्टबैंकको सहयोगमा पहिलो पटक ट्रेजरी बिल जारी गरिएको प्रवक्ता गिरीले बताए ।

यसअघि केन्द्रीय बैंकबाट नै सरकारी ऋणपत्र तथा ट्रेजरी बिल्सको बोलकबोल हुँदै आएको थियो । अब उक्त कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरबाट हुनेछ ।

.पिडिएमओले नै सो काम गर्नुपर्ने आवाज उठ्दै आए पनि लामो समयदेखि केन्द्रीय बैंकले नै बोलकबोलको सूचना जारी गर्दै आएको थियो ।

साथै, पिडिएमओले बोलकबोलको निर्णय डिओएमएस को आधारमा गर्ने भएकोले उक्त कार्यमा सहभागीहरूले डिओएमएस र ओबिएसएस दुवैमा बोलकबोल पेश गर्नु पर्नेछ ।