बजेट र योजना नयाँ प्रशासकीय स्वरूप अनुरूपको बनाउनुपर्छ: अध्यक्ष दाहाल


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजेट र योजना बनाउँदा पुरानो सोच झल्कने भन्दा पनि नयाँ प्रशासकीय स्वरूप अनुरूपको बनाउन सरकारलाई सुझाव दिएका छन् ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै अध्यक्ष दाहालले सरकारले बनाउने योजनाहरू पुरानो सोच झल्कने गरी आउने गरेको भन्दै त्यो सोचलाई परिवर्तन गर्न जरुरी रहेको बताएका हुन् ।

उनले अर्थ मन्त्रालय र योजना आयोगले बजेट र योजना बनाउँदा सङ्घीय संरचनालाई प्राथमिकता राखेर बनाउन सुझाव दिए । दाहालले सरकारले आर्थिक वर्षको बजेट विगतको भन्दा प्राथमिकता र सिद्धान्त तुलनात्मक रूपमा नयाँ ढङ्गमा जान खोजेका देखिएको उल्लेख गरे ।

उनले बजेटमा प्राथमिकता तय गर्दा देशको आवश्यकता,काम गर्ने क्षमता र सम्भावनाको विषयमा ध्यान दिन आवश्यक रहेको बताए । अध्यक्ष दाहालले राष्ट्रिय सभा मूलतः प्रदेश र स्थानीय तह प्रतिको जिम्मेवारी भएको भन्दै समितिहरू र सांसदहरू त्यसमा गम्भीर भएर लाग्न जरुरी रहेको बताए ।

उनले सङ्घीय,प्रदेश र स्थानीय तहको सरकारबिचको पुलको काम गर्न सक्ने क्षमता राष्ट्रिय सभाले राख्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले सरकारले बनाउने योजना,बजेट जस्ता विषयमा ध्यान दिन सुझाव दिए ।

मुलुकको क्षमता भन्दा पनि फेसनको रुपमा योजना माग गर्ने काम भइरकेको अध्यक्ष दाहालको भनाई थियो । उनले १६ औं योजना कार्यान्वयनमा जान लागेको भन्दै योजना बनाउने परम्परा योजना निर्माण, लक्ष्य निर्धारण गर्ने र कार्यान्वयन गर्ने कार्यविधिको सन्दर्भमा नयाँपन आउन जरुरी रहेको बताए ।

उनले योजनाअनुसार लक्ष्य प्राप्त गर्न नसकिएको भन्दै आगामी योजना साना र थोरै तर कार्यान्वयन हुने बनाउनु जरुरी रहेको बताए ।