वाइडबडी जहाज खरिदमा १ अर्ब ४७ करोडको भ्रष्टाचार, ३२ जनाविरुद्ध मुद्दा


काठमाडौँ । नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक सुगत कंसाकार, पूर्व पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ ।

यस्तै, भन्सार विभागका तत्कालीन महानिर्देशक मुक्तिराम पाण्डे, तत्कालीन सहसचिव शिशिरकुमार ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने, जीवनप्रकाश सिटौला, अच्युतराज पहाडी, व्यवसायी निमानुरू शेर्पालगायत प्रतिवादी छन्।

अख्तियारले यस प्रकरणमा गत मंसिरमा सार्वजनिक सूचना नै जारी गरेर जहाजर खरिद प्रकरणमा संलग्न तीनवटा विदेशी कम्पनीका सञ्चालक र प्रतिनिधिलाई बयानका लागि बोलाएको थियो।

२०७५ पुस १७ गते समितिले छानबिन प्रतिवेदन नै सार्वजनिक गरेको थियो । खरिद प्रक्रियामा संलग्न तीन पूर्वमन्त्री, तीन सचिव, निगमका तत्कालीन महाप्रबन्धकलगायतमाथि थप छानबिन गरी कारबाही गर्न समितिले अख्तियारलाई निर्देशन दिएको थियो।