काठमाडौँ । कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति वृद्धि भएर २०८० फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०.८ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० फागुन मसान्तमा १४ अर्ब १४ करोड पुगेको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा २०८० फागुन मसान्तमा १६ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ रहेको छ । २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा २०८० फागुन मसान्तमा २२.२ प्रतिशतले वृद्धि भएको हो । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ प्रतिशतले वृद्धि भएको हो ।
२०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० फागुन मसान्तमा २ खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ । २०८० फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०÷८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्