विस्तार हुँदै स्वास्थ्य बिमा सेवा, २६.५४ प्रतिशत जनसंख्या आवद्ध


काठमाडौँ । देशको ७७ वटा जिल्लामा पुगेको स्वास्थ्य बिमामा २६.५४ प्रतिशत जनसंख्या आवद्ध भएको पाइएको छ । आज (शुक्रबार) आठौं स्वास्थ्य बिमा दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य बिमा बोर्डले पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएकाे हाे ।

मुलुकको ७७ लाख ४१ हजार ४५३ जनसंख्या स्वास्थ्य बिमा आवद्ध भएको बाेर्डले जनाएकाे छ । स्वास्थ्य बिमा बोर्डकाअनुसार कुल बिमित परिवारको संख्या २३ लाख ९२ हजार ७६६ पुगेको छ, जुन ३५.८८ प्रतिशत हो । त्यस्तै कुल बिमितमध्ये सेवा लिनेको संख्या ३६ लाख ५२ हजार ४३२ पुगेकाे छ, जुन ४७.१८ प्रतिशत रहेको छ भने नवीकरण गर्ने बिमितको संख्या ४८ लाख ८ हजार ७६० रहेकाे छ, जुन ६२.११ प्रतिशत रहेको बिमा बोर्डले जनाएको छ ।

चालु आर्थिक वर्षको (२०८०\०८१) फागुन १० गतेसम्म बिमा बोर्डले ६ अर्ब ४४ करोड १६ लाख ९९ हजार ७५५ रुपैयाँ भुक्तानी दिएको छ । हालसम्म बोर्डमा ३ अर्ब ८४ करोड ८८ लाख ६९ हजार ६९१ रुपैयाँ मौज्दात रहेको बोर्डले जनाएको छ । त्यस्तै स्वास्थ्य बिमा ७७ जिल्लाका ७ सय ५२ स्थानीय तहमा विस्तार भइसकेको छ । अहिलेसम्म ५ लाख १४ हजार ६१८ जना अति गरिब ९परिवारका सदस्यसमेत० र ९ लाख ३० हजार ३९७ जेष्ठ नागरिक स्वास्थ्य बिमामा आवद्ध छन् ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले कार्यक्रम विस्तारले पूर्णता प्राप्त गरिसकेको भएतापनि कार्यक्रमको शुद्धीकरण र दिगो व्यवस्थापनका लागि अझै विभिन्न चुनौतीहरू रहेकाे बताएका छन् । बोर्डले उचित नियमन तथा तोकिएको समयमा दावी भुक्तानी गर्ने व्यवस्था मिलाइ गुनासो रहित कार्यक्रम सञ्चालन गर्न बोर्ड अग्रसर रहेको समेत बताए ।

उनकाअनुसार स्वास्थ्य बिमा आवद्धता अनलाइनबाट गर्ने तयारी अगाडि बढाइएको छ भने स्वास्थ्य बिमा सह-भुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० तयार गरी लागू गरिएको छ ।

बिमा बोर्डले चैत २५ गते आठौँ स्वास्थ्य बिमा दिवस मनाउँदै छ । ललितपुरको जवलाखेलस्थित स्टफ कलेजमा प्रधानमन्त्री पुष्पकमल दाहालकाे उपस्थितीमा सो दिवस मनाउने भएको बोर्डले आज पत्रकारसँग अन्तरक्रिया कार्यक्रम मार्फत जनाएको छ ।