राेयल इन्फिल्डले ‘रोयल इन्फिल्ड पोकर रन नेपाल’ आयोजना गर्दै, करिब १५० जनाको सहभागिता रहने


काठमाडौँ ।रोयल इन्फिल्डले नयाँ वर्षको पूर्वसन्ध्या अर्थात् यही ३० चैतमा ‘रोयल इन्फ़िल्ड पोकर रन नेपाल’ कार्यक्रम आयोजना गर्ने भएको छ । कम्पनीले नेपाली नयाँ वर्षलाई स्वागत गर्दै एउटा महान् उत्सवको रूपमा मनाउन उक्त कार्यक्रम आयोजना गरिएको बताएको छ ।

कम्पनीले गर्न लागेको १४औँ संस्करणको उक्त कार्यक्रम काठमाडाैँको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको प्राङ्गणबाट सुरु भई बेलुकी पोखरा पुग्ने गरिन्छ । कार्यक्रमअन्तर्गत विभिन्न किसिमका रङ, बनावट र सजावटले सुसज्जित आ–आफ्ना मोटरसाइकल चढेर करिब २०० किमिको दूरी पार गर्दै बेलुकी पोखराको होटल ल्यान्डमार्क लेकसाइडमा बास बसिन्छ । त्यो रात गाँस र चास (मधुशाला, पार्टी, मनोरंजन) को व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यस कार्यक्रममा रोयल इन्फ़िल्ड कम्पनीका सबै मोटरसाइकल धनीले भाग लिन पाउँछन् । कार्यक्रमको अर्को मुख्य रमाइलो पक्ष भनेको पोकर खेल हो । पोकर भन्नाले ताससँग सम्बन्धित एक किसिमको खेललाई बुझाउँछ ।

पोकर खेलमा पाँच पत्ती तास हातमा लिएर अनेकौँ दाउ बनाउन सकिन्छ । पोकर रनमा पनि प्रत्येक सहभागीलाई विभिन्न पाँच ठाउँमा एकरएक पत्ती तास तान्ने मौका प्रदान गरिन्छ । अन्तिममा पोखरा पुगेर उक्त पाँच पत्ती तास मिलाउँदा जसको दाउ सबैभन्दा ठूलो बन्छ, त्यो नै यस कार्यक्रमको विजेता मानिन्छ । विजेतालाई विभिन्न कम्पनीद्वारा प्रायोजित विशेष उपहार प्रदान गरिन्छ ।

लाइभ कन्सर्ट, डीजे सेसनलगायतका कार्यक्रम पनि समावेश गरिएको कम्पनीले जनाएको छ । यसपटकको कार्यक्रममा नेपाल, भारत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, अस्ट्रियालगायत संसारका विभिन्न देशबाट आएका मोटरसाइकलयात्री सम्मिलित करिब १५० जनाको सहभागिता रहने बताइएको छ ।

कार्यक्रमको मुख्य उद्देश्य मोटरसाइकल यात्रामार्फत भ्रातृत्वको विकास गर्नु हो । त्यसैले त यसको मुख्य नारा नै ुभ्रातृत्व बन्धनको धड्कन ९द थम्प दयाट बाइण्ड्स० रहेको छ । यसको अर्को रमाइलो पक्ष भनेको सहभागीलाई प्रदान गरिने सुन्दै रोचक लाग्ने विभिन्न किसिमका पुरस्कारहरू हुन् । पुरस्कारहरूमा बेस्ट पोकर हात, बेस्ट इन्फ़िल्ड अवार्ड, सपोर्टिङ वुमन राइडर, सिनियर सिटिजन अवार्ड, लामो दूरी राइडर, हार्ड लक अवार्ड (यात्रा अवधिभर जसको मोटरसाइकलले सबै भन्दा धेरै दुस्ख दियो) रहेका छन् ।

१४औँ संस्करणको यस ‘पोकर रन नेपाल’ लाई अल्फा अटोमोटिभ प्रालिको मुख्य प्रायोजन तथा नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन बोर्ड पोखरा र पोखरा पर्यटन परिषद्‌को सम्बद्धता छ भने रेड बुल, डाबर नेपाल रियल जुस र कवच राइडिङ गियरको सहप्रायोजन रहेको कम्पनीले जानकारी दिएको छ ।

१ वैशाखका दिन सबै सहभागीहरूले पोखराको संघ अन्नपूर्ण बालगृहमा पुगेर विभिन्न सैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।