त्रिभूवन विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे स्क्यानिङ मेशिन नभएकाे भन्दै कार्गो व्यवसायीले सामान पठाएनन्



काठमाडाैँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मेशिन नभएको भन्दै कार्गो व्यवसायीहरुले सामान निकासी गर्न बन्द गरेका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्क्यानिङ) मिसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै आईतवारबाट सामान निकासी गर्न बन्द गरेका हुन् ।

सोमवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा व्यवसायीहरु भेला भइ नेपाल पारवहन तथा गोदाम लिमिटेडले एक्सरे (स्क्यानिङ) मेशिनको सञ्चालन गर्दै आइरहेको र डेढ महिना हुँदा पनि बिग्रिएको मेसिन बनाउन नलागेको भन्दै उनीहरुले आफूहरुको काम बन्द गरेको बताए ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै कार्गो व्यवसायी खेमराज सुवेदीले नेपाल पारवहन तथा गोदाम लिमिटेडले बिग्रिएको मेसिनको मर्मतसम्भार पनि नगरेको र नयाँ थप्ने कुरामा पनि चासो नदिएको बताए ।

उनले सामान जाँचपास गराउनलाई धेरै समस्या भएकाले बाध्य भएर सामान पठाउन नसकेको उल्लेख गरे । सामान पठाइसकेपछि केही समस्या आए को जिम्मेवारी हुन्छ ? भन्दै उनले प्रश्न गरे ।

सुवेदीले सामान निकासीमा विमानस्थलमा पारवहन गोदामको चरम लापरवाही भएको आरोप लगाए । दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको र मेसिन नहुँदा जाँचपास नभएको भन्दै आईतवारबाट पूरै काम ठप्प पारेको उनले बताए ।

उनले मेशिन नभएसम्म व्यवसायीहरुले कुनैपनि चुनौती लिएर सामानहरु क्लियरिङ र फर्वाडिङ नगर्ने घोषणा गरेका छन् । लिमिटेड मर्मतसम्भारका लागि ३० लाख रुपैयाँ पर्ने र नयाँ किन्न पनि बजेट नरहेको भन्दै भाग्ने काम गरिरहेको सुवेदीले बताए ।

उनका अनुसार तीन निकायहरु पारवहन गोदाम, भन्सार र सिभिल एभिएसन एकले अर्कोलाई आरोप देखाएर बसिरहेका छन् ।

“त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो वेयरहाउसमा जुन सामान निकासी जाँचपासको क्रममा यो एक्सरे मेशिनले स्क्यानिङ गरिन्छ । त्यो बिग्रिएको डेढ महिना भयो । यो नेपाल पारवहन तथा गोदाम लिमिटेडले सञ्चालन गर्दै आएको छ । डेढ महिना बितिसक्दा पनि यसको मर्मतसम्भार नयाँ थप्ने यावत कुराहरु नगरेको हुँदा हामीलाई सामान जाँचपास गराउनलाई धेरै नै समस्या भयो ,” उनले भने ,”यहाँ सेन्सेटिभ ठाउँ हो । यहाँबाट क्लियर भएको सामान जहाजमा जान्छ । भोलि तलमाथि भए यसको जिम्मेवारी को हो ? हामीले दुई दिनदेखि व्यापारीका सामान ल्याएर थन्क्याएको छाैं। जाँचपास भएको छैन । हामीले काम गर्ने अवस्था सिर्जना भएको छैन ।”

“सरकारले लगानी सम्मेलन भनेर ढोंग पिटिरहेको छ, व्यवसायीहरुको हालत र सामानको हालत यो छ । मेशिन नबनेसम्म कुनैपनि सामान जाेखिममा हामी क्लियरिङ, फर्वाडिङ पनि नगर्ने भनेका छाैं । उहाँहरुलाई पटक पटक यो मेशिन बनाउन भनेकाे छाैं,” उनले भने ,”याे अन्तर्राष्ट्रिय विमानस्थल हो, यहाँ सबैको आँखा जान्छ, हाम्रो सुरक्षा थ्रेटमा ठूलो चुनौति छ । मर्मत गर्नकाे लागि भन्दा ३० लाख पर्छ, हामीसँग बजेट छैन, मर्मतसम्भार गर्न सम्भव छैन, नयाँ हाल्न पनि सम्भव छैन भनेर तर्किनुभएको छ । सामान निकासी गर्न नसक्ने भन्दै हामीले हिजोबाट काम बन्द गरेका छाँै ।”

उनीहरुले व्यापारीहरुले व्यापार गर्ने वातावरण बनाइदिन सरकारसँग आग्रह गरेका छन् । व्यापारको वातावरण नबनाइदिए तालाचाबी दिन आग्रह गर्दै त्यसपछि विदेश वा घर जाने भन्ने बारेमा निर्णय लिने चेतावनी दिए ।