९ महिनामा देशबाट ११ खर्ब बढी रुपैयाँ विदेशियो


काठमाडौँ । चालु आर्थिक वर्ष २०८०\०८१ को ९ महिना (साउनदेखि चैत्र) मा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको बस्तु तथा सेवा आयात भएको छ ।

गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा आयात २.८४ प्रतिशत घटेको हो । गत आर्थिक वर्ष ९ महिनामा १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबरको बस्तु आयात भएको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब १३ अर्ब रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ । गत वर्षको सोहि अवधिमा यस्तो निर्यात १ खर्ब १८ अर्ब रुपैयाँको भएको थियो ।

यो अवधिमा १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा यो २.९२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा नेपालको वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड रहेको थियो ।

त्यस्तै यो अवधिमा नेपालको वैदेशिक व्यापारघाटा १० खर्ब ५३ अर्ब रुपैयाँ छ । जुन, गत वर्षको तुलनामा २.७५ प्रतिशतले सुधारिएको हो । गत आर्थिक वर्षको ९ महिनाको अवधिमा १० खर्ब ८३ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो ।