लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण


काठमाडौँ । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन सम्बन्धमा विभिन्न दलहरूलाई स्पष्टीकरण सोधेको छ। आयोगले समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न २१ राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधेको हो ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार १५ दलहरूले आर्थिक वर्ष २०७९\०८० को लेखापरीक्षण प्रतिवेदन बुझाएका छैनन्।

चुरेभावर लोकतान्त्रिक पार्टी, राष्ट्रिय एकता पार्टी प्रजातान्त्रिक, शिव सेना नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरूहट०, राष्ट्रवादी एकता पार्टी, राष्ट्रिय एकता मञ्च, हाम्रो नेपाल पार्टी लगायतका १५ पार्टीहरूलाई आयोगले सात दिने स्पष्टीकरण सोधेको हो।

समयमा लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने पार्टीहरूमा नेपाली कांग्रेस विपी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी), समावेशी समाजवादी पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी लगायतका छन्।

गान्धीवादी पार्टी, नेपाल राष्ट्रवादी पार्टी, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी परिवर्तन, सामाजिक एकता पार्टी र साझा पार्टी नेपालले लगातार २ आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पेस नगरेको आयोगले जनाएको छ। यी पार्टीलाई पनि स्पष्टीकरण सोधिएको सहप्रवक्ता पाण्डेयले जानकारी दिए।

लगातार तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने पार्टीहरू आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक, नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिकलाई पनि आयोगले सात दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ। आर्थिक वर्ष ०७९\०८० को लेखापरीक्षण समयभित्र बुझाउने तर सार्वजनिक नगर्ने २० दल छन्।

“राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४१ को उपदफा (५) बमोजिम आयोगमा पेस भएको लेखा परीक्षण प्रतिवेदन सम्बन्धित दलको कार्यालय वा वेवसाइट, आमसञ्चार माध्यम (पत्रपत्रिका, रेडियो, टेलिभिजन आदि), सामाजिक सञ्जाल (फेसबुक, ट्विटर, इन्सटाग्राम) का माध्यमबाट सात दिनभित्र सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी विवरण आयोगमा पेस गर्न निर्देशन दिने,” आयोगको निर्णयमा भनिएको छ ।