चार मोडलबाट थाल्यो सीजीले हिरोको व्यापार, यस्ता छन् विशेषता


काठमाडौँ। दुई पांग्रे सवारीको उत्पादन र बिक्रीमा आक्रामक व्यापार बढाउँदै गरेको सीजी मोटर्सले हिरो मोटोकर्पसको सहकार्यमा चार लोकप्रिय उत्पादन सार्वजनिक गरेको छ ।

आइतबार एक कार्यक्रम गरेर सीजी मोटर्सले नेपाल एसेम्बल मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्दै बिक्री समेत सुरुवात गरेको हो।

गत बैशाख २ गते सीजी मोटर्सले पूजाआजासहित एसेम्ब्ली लाइनको औपचारिक सुरुवात गरेको थियो। गएको फेब्रुअरी अन्त्यमा अप्रिलदेखि लागु हुनेगरी आधिकारिक बिक्रेता नियुक्त भएलगत्तै सीजी मोटर्सले नेपालमै मोटरसाइकल एसेम्बल गरेर बिक्री सुरू गर्ने घोषणा गरेको थियो।

हिरो मोटोकर्पले नेपालमा सीजीमार्फत एक्सपल्स २०० ४भी, सुपर स्पिलेन्डर, स्पिलेन्डर प्लस गरी तीन मोटरसाइकल र जुम ११० स्कुटरको बिक्री थालेको छ । नेपाली बजारमा एक्सपल्स २०० ४भीको मूल्य ४ लाख ५० हजार रुपैयाँ छ ।

सुपर स्पिलेन्डरको मूल्य २ लाख ४० हजार रुपैयाँ रहेको छ । स्पिलेन्डर प्लसको मूल्य २ लाख ६ हजार ९०० रहेकाे छ । त्यस्तै स्कुटर जुम ११० को मूल्य दुई लाख ५९ हजार ९०० रुपैयाँ रहेको छ । यसै स्कुटरको सुरुवाती भेरियन्टको मूल्य दुई लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।

यी चारवटै उत्पादनलाई कम्पनीले नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यसिलिटीमा स्थानीयरूपमै एसेम्बल गर्ने भएको छ ।

प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुने र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्ने कम्पनीले जनाएको छ ।

सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रूतरूपमा विस्तार गर्ने बताएको छ ।आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने कम्पनीको लक्ष्य छ ।

सीजी मोटर्सले काठमाडौँमा हिरोको प्रमुख तथा फ्ल्यागसिप सोरुम खोलिसकेको बताएको छ । त्यस्तै, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका लागि हिरो मोटोकर्पसँगको सहकोय विशेष क्षण भएको बताए । “हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्न हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौं”, उनले भने ।

उनले देशबाट युवाहरू बाहिरिरहेका बेला कम्पनीले आशा देखेको बताए । उनले हरेक मानिसभित्र एक हिरो हुने बताउँदै हिरोले नेपाली बजारमा अझै नयाँ उचाइ बनाउने बताए ।

सन् २०१४ मा नेपालमा प्रवेश गरेको हिरोले बर्सौंदेखि सुपर स्प्लेन्डर र एक्सपल्स २०० मोटरसाइकलहरूजस्ता सर्वाधिक रुचाइएका प्रतिष्ठित उत्पादनका साथ आफूलाई देशकै अग्रणी मोटरसाइकल ब्रान्डको रूपमा स्थापित गरेको छ ।