अर्थसचिवमा मधु मरासिनी, कृष्णहरि प्रधानमन्त्री कार्यालयमा


काठमाडौँ । सरकारले मधुकुमार मरासिनीलाई अर्थसचिवमा सरुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले मरासिनीलाई अर्थसचिव बनाउने निर्णय गरेको हो।

यसअघिका अर्थसचिव कृष्णहरि पुष्कर हटाएर मरासिनीलाई अर्थसचिव बनाउने निर्णय सरकारले गरेको हो। हाल अर्थसचिव रहेका कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

मरासिनी यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसमेत भएका थिए। विशेष अदालत गत वैशाख ७ गते नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सचिव मरासिनीलाई सहित ८ जनालाई सफाइ दिएकाे थियाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोजमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विषयगत दक्षता र कानूनी अधिकार नभएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) लाई राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाको जिम्मेवारी दिई रकम निकासा गरेर ठेक्का सम्पन्न भएको पाँच वर्षसम्म प्रणाली सञ्चालनमा नआएको भन्दै अख्तियारले २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो ।