कतारका राजा आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा


काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउदैँ छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनी दुई दिने भ्रमणका लागि मंगलबार अपराह्न काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिरलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने राष्ट्रपतिको कार्यालयका जनाएको छ ।

कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गरेका छन् ।

भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

भ्रमणका क्रममा नेपाल र कतारबिचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । कतारी अमिरको राजकीय भ्रमणले कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् ।

कतारी अमिरको राजकीय भ्रमणका अवसरमा नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले आज नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।